माैसम विभागले भन्यो- ‘तत्काल धेरै भारी वर्षाको सम्भावना छैन’

माैसम विभागले भन्यो- ‘तत्काल धेरै भारी वर्षाको सम्भावना छैन’

काठमाडौं : अबका केही दिन धेरै भारी वर्षाको सम्भावना छैन।

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका मौसमविद् रोजन लामिछाने हल्कादेखि मध्यम वर्षाको सम्भावना कायमै रहेको र तत्काल भारी वर्षा वा लगातार वर्षाको सम्भावना भने नरहेको जानकारी दिए।

लामिछानेका अनुसार अबको २४ घण्टामा देशका पहाडी भू–भागका केही स्थानहरूमा र बाँकी भू–भागको थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। छिटफुट भारी वर्षा पनि हुनसक्ने उनले बताए।

पहाडी भूभागका क्षेत्रहरूबाट बहने नदीको जल सतह बढ्नसक्ने गेग्र्यान बहाव, बाढी, पहिरो, भू–क्षयजस्ता प्रकोप हुन सक्ने भएकाले जनस्वास्थ्य, कृषि, दैनिक जनजीवन, सडक तथा हवाई यातायातमा हुन सक्ने असुविधा, जोखिम वा क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध भने गरेको छ।

हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा उत्तरमा अवस्थित छ। हाल कोशी प्रदेशमा सामान्य बदली रही बाँकी भू–भागमा आंशिकदेखि सामान्य बदली रहेको छ। कोशी, मधेस र लुम्बिनी प्रदेशका थोरै स्थानहरुमा हल्का वर्षा भइरहेको छ।

सोमबार राति देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। कोशी, बागमती, लुम्बिनी र गण्डकी प्रदेशका थोरै स्थानहरूमा हल्का वर्षाको सम्भावना रहेको जनाइएको छ।

भोलि भदौ १२ गते देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। देशका पहाडी भू–भागका केही स्थानहरुमा हल्कादेखि मध्यम वर्षा र बाँकी भू–भागका थोरै स्थानमा हल्का वर्षाको सम्भावना रहेको जनाइएको छ।

भदौ ११, २०८० सोमबार २१:३३:०७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।