वर्षा बाधक बनेपछि नेपाल र थाइल्यान्डबीचको खेल रद्द
काठमाडौं : नेपाल र थाइल्यान्डको महिला टोलीबीच सोमबार भएको टी–ट्वान्टी अभ्यास खेल वर्षा बाधक बनेपछि रद्द भएको छ।
मलेसियाको बायोमास रङ्गशालामा टस जितेर पहिले ब्याटिङ रोजेको थाइल्यान्डले नेपाललाई जितका लागि एक सय २८ रनको लक्ष्य दिएको थियो।
थाइल्यान्डका लागि कप्तान नथाकन चान्थमले सर्वाधिक ७८ रनको अविजित इनिङ खेलेकी थिइन्।
नेपालकी कविता कुँवरले २ विकेट लिएकी थिइन् भने पूजा महता, खुसी डङ्गोल, इन्दु बर्माले समान एक÷एक विकेट झारेका थिए।
उक्त विजयी लक्ष्य पछ्याएको नेपालले तीन बल खेल्दा वर्षा बाधक बनेपछि खेल रोकिएको थियो। सीता रानामगर शून्यमा रन आउट भएकी थिइन्।
नेपाल र थाइल्यान्डले आइसीसी महिला विश्वकप टी–ट्वान्टी एसिया क्षेत्र छनोटअघि खेलको उक्त अभ्यास खेल खेलेको हो। एसिया छनोट खेल यही भदौ १४ देखि २३ गतेसम्म मलेसियामा हुँदैछ।
एसिया छनोटमा विभिन्न ११ राष्ट्रको सहभागिता रहनेछ। नेपालको समूह ए मा परेको छ।
नेपालको समूहमा युएई, कतार, मलेसिया, भुटान र बहराइन छन्। त्यस्तै समूह बीमा चीन, हङकङ, कुवेत, म्यानमार र थाइल्यान्ड छन्।
प्रतियोगितामा फाइनल पुग्ने दुई टोलीले २०२४ मा ग्लोबल महिला टी–ट्वान्टी विश्वकप छनोट खेल्न पाउने छन्। नेपालले आफ्नो उद्घाटन खेल ३१ अगस्टमा मलेसियासँग खल्नेछ।
भदौ ११, २०८० सोमबार २०:०२:५४ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।