काठबाट देवता निकाल्ने गोपालकृष्ण भन्छन्- ‘अहिले त मन्दिरमा ‘तल्लो जात’को अशुद्ध काठ नहालेसम्म बिलै पास हुँदैन’
उपत्यकाको काष्ठकलामा शिल्पकारहरूको धेरै गहिरो सम्बन्ध छ। दुवै एक अर्काको परिपुरक हुन्। तर, पछिल्लो समय भने काष्ठकला मठमन्दिरमा मात्र सीमित हुने क्रम बढ्दो छ। ‘अल्मुनियम’को संरचना छ्यापछ्याप्ती हुन थालेको छ। जसले पहिला सिकर्मी भनेर चिँनिदै आएको शिल्पकारहरूको कामको रफ्तार पनि कम छ।
२०७२ को महाभूकम्पले ऐतिहासिक संरचनाहरू ध्वस्त भए। त्यसपछि पर्यटन मन्त्रालय, सहरी विकास मन्त्रालय जस्ता विभिन्न निकायहरू ती संरचनाको निर्माण र पुनर्निर्माणमा लागे। त्यसै क्रममा भक्तपुरको जगातीमा पुर्ख्यौली पेशा गरिरहेका गोपाल कृष्ण शिल्पकार काठमाडौंको बसन्तपुर आए।
काष्ठमण्डप, तलेजु, पचपन्न झ्याले, चाँगुनारायण, मिजु देग:, दश अवतार, जैशी देग:, महादेव देव: लगायत दर्जनौ संरचनाहरूमा उनले आफ्नो सीपको बुट्टा भरिसके। एक वर्षदेखि भने ठूलो घन्टीको छेवैमा रहेको राधाकृष्ण मन्दिर बनाइरहेका छन्। सहरी विकास मन्त्रालयको बजेटमा बन्न लागेको सो मन्दिरको काम लगभग सकिनै लाग्यो। त्यससँगै जोडिएर काम गर्नको लागि उनले जस्ताको टहरा पनि बनाएका छन्।
उनले काठमा कुँदेर आफ्नो जीविकोपार्जन गर्न थालेको पनि करिब २३ वर्ष भयो। सिकर्मीको घरमा जन्मिएको उनको टोलनै ‘सिकर्मी टोल’ भनेर चिनिन्छ। जहाँ सबै जनाको पेशा यहि नै हो। त्यहि भएर उनले पनि माहोल अनुसार आफूलाई पेशामा ढाले। भक्तपुरमा उनको बाले अहिले पनि यहि काम गर्छन्।
‘पढाई भन्दा काम नै ठूलो भन्ने लाग्यो’
घरमा कामको चटारोले गर्दा उनले पढ्न पनि पाएनन्। दुई कक्षामा पढ्दै गर्दा उनलाई पनि पढ्न मन लागेन। अनि घरमा पनि कर गर्ने कुरा भएन।
‘पढेर केहि काम छैन भन्छ। पढेर जागिर खायो भने चार/पाँच हजार पाइन्थ्यो,’ उनले सम्झिए, ‘त्यो बेलामा नै सिकर्मी काम गरेर २५/३० हजार त मजाले कमाउँथ्यो। त्यसो भएपछि किन पढ्न पर्यो र! त्यहिमाथि घरमा काम पनि धेरै हुन्थ्यो । सबै सक्नेपर्ने भयो।’
घरमै काठको काम गर्दागर्दै कहिलेदेखि सिकर्मी भएँ भन्ने ठ्याक्कै याद छैन गोपाललाई। १५ वर्षमा २५ रूपैयाँ ज्याला कमाए।
‘त्यति धेरै पैसा आए पछि दङ्ग परेँ। अनि झन् यहि काम गर्न मन लाग्यो। पछि त रमाइलो पनि भयो। अहिलेसम्म यहि काम रमाइलो लागिरहेको छ’, उनले एकै श्वासमा भने।
सिकर्मी काम अहिले ‘सिकर्मी’ले मात्र नभएर सबैले गर्न थालिसकेका छन्। तर, पनि ‘विशेष’ भवन, मन्दिरमा भने अझै पनि शिल्पकारलाई नै बोलाउने गरेको उनको अनुभव छ। त्यहि भएर पनि यो काम उनलाई प्यारो लाग्छ। यसले शिल्पकारहरूलाई थप हौसला मिलेको उनले बताए। उनले सम्पदा क्षेत्रमा बनाउने भनेको पनि मन्दिरहरू नै हो।
उनका अनुसार प्राय मन्दिरको ढोकामा गणेश र कुमारको मूर्ति कुँदिएका हुन्छन् भने कतै अष्ट मात्रिकाको। त्यस बाहेकमा भने मन्दिरअनुसार नै देवता बनाउनुपर्ने बताउँछन् उनी।
‘पहिला फलेक बनाएको, सानोसानो बुट्टा हुन्छ त्यसको। त्यो चैँ सबैमा प्रयोग हुन्छ। सजिलो पनि हुन्छ। अहिले त अरूलाई बनाउन नआएको पनि मलाई बनाउन आउँछ’, उनले खुशी हुँदै सुनाए।
भक्तपुरको काठ राम्रो, काठमाडौंको डिजाइन
भक्तपुरको काष्ठकला र काठमाडौंकोमा तुलना गर्दा डिजाइनअनुसार उनलाई काठमाडौंकै मनपर्दोरहेछ।
उनले सुनाए, ‘काठ चैँ भक्तपुरमा एकदम राम्रो प्रयोग हुन्छ। तर, डिजाइन चैँ यताको राम्रो छ। त्यहि भएर यहाँको काम पनि अलि गाह्रो नै हुन्छ।’
थुप्रै सम्पदा क्षेत्रमा काम गरेका उनी उपत्यका बाहिर मागसँगै आम्दानी पनि राम्रो हुने बताउँछन्। उनले काठमाडौं उपत्यका मात्र नभएर बाहिरका पनि थुप्रै सम्पदामा काम गरिसकेका छन्।
पछिल्लो समय शिल्पकारहरूलाई सिधै काम दिने भन्दा पनि टेन्डर र ठेक्का पट्टाको कारण काम पाउन गाह्रो हुने गरेके उनको अनुभव छ। पाइहाले पनि थोरै पैसा दिने गरेको उनले सुनाउ। काष्ठमण्डपको पुनर्निर्माणमा पनि उनले ज्यालादारीमा नै काम गरेका रहेछन्।
मसिनो आवाजमा उनी भन्छन्, ‘अहिले सबै काम ठेक्कामा दिन्छ। अनि काम राम्रोसँग हुँदैन के। त्यस्तो गर्यो भने घाटा भयो। डाइरेक्ट काम आउनलाई हामी सँग पढाइ छैन नि! लाइसेन्स छैन। अरुले लिन्छ अनि हामीलाई सेकेन्ड ह्याण्ड दिन्छ।’
बजेट धेरै खर्च भइसकेको र बिग्रेपछिको अवस्थामा मात्रै आफूकहाँ काम आउने गरेको उनी बताउँछन्। डेढ लाख देखि तीन लाखसम्म मज्जाले कमाउँदै आएका उनले कहिलेकाहिँ त महिनामा २५/३० हजार मै चित्त बुझाउनुपर्दोरहेछ। बिग्रेको काम बनाउनपर्दा गाह्रो हुने र पैसा पनि थोरै पाउने उनको अनुभव छ।
गोपालको भक्तपुरमा कारखाना पनि छ। अहिले सबै दाजुभाइ यहि योजनामा आएको भएर कारखाना भने बा ले सम्हालेका छन्। उनको बा ले बाहेक घरका सबै सदस्यले काम गर्दा मेसिन नै प्रयोग गर्छन्।
उनले सुनाए, ‘भनेको जस्तो मूर्ति नै मेसिनले बनाउँछ। मेसिनले बनाएपछि, हामीले काँ काम पाउनू, अहिले त पैसा कमाउन पनि पैसा हुनपर्छ। मेसिन प्रयोग गर्न हामीसँग पैसा पनि धेरै छैन। मेसिनको ३५ लाखसम्म पर्छ। काँ किन्न सक्नू।’
बत्ति बालेर काम नगर्दा, आँखाको चमक तेज !
गोपाललाई सिकर्मी काम निकै सजिलो लाग्छ। तर, एकोहोरी हेरिरहँदा आँखा दुखेको हो कि! जस्तो लाग्छ रे। त्यसबाहेक भने उनको परिवारमा कसैले पनि बत्तीको उज्यालोमा काम गर्दैनन्। बत्तीको उज्यालोमा जति कम काम गर्यो त्यहि नै आँखा सुरक्षित भइराख्ने उनीहरूको विश्वास छ।
‘हाम्रो बा ले पनि अहिलेसम्म बत्ति बालेर काम गरेको थाहा छैन। घरमा कसैले पनि बत्ती बालेर काम गर्दैनौँ,’ उनले अगाडि भने, ‘बरु ढिला नै काम सक्काउँछौँ तर, बत्ती बालेर राति काम गर्दैनौँ। त्यसो गर्दा काम पनि राम्रो हुने अनि आँखा पनि राम्रो हुन्छ।’
उनले आफ्नो छोरालाई पनि बत्तीमा काम गर्न दिएका रैन्छन् अहिलेसम्म।
‘मेरो छोरालाई पनि बत्तीमा काम गर्न दिदिँन। पचास वर्षसम्म राम्रो आँखा देख्छ भने बत्ती बालेर काम गर्दा त्यो भन्दा छिट्टै कम्जोर हुन्छ रे। त्यहि भएर त अहिलेसम्म मेरो बाको पनि आँखा मज्जाले देख्छ’, उनले भने।
त्यस्तै अर्को चाख लाग्दो कुरा भनेको हातले खोपेर काम गर्दा चोटपटक नलागेको तर मेसिनले काम गर्दा चोट लाग्ने गरेको पनि उनले बताए।
उनले थप स्पष्ट पारे, ‘हातले त धेरै काम गरिसकेको छ नि त! त्यो भएपछि चोट लाग्ने भन्ने नै हुँदैन। तर, मेसिन चैँ नयाँ भएको कारण डराउनुपर्छ।'
बिहान आठ बजे काठमाडौं आइपुगेर टोलीका चारै जना एक नासले काम गरिरहन्छन्। भर्खरै एसईई दिएका छोरालाई पनि यहि पेशामा लाग्न उनी सुझाव दिन्छन्।
‘उसले गर्छ, पनि। कहिलेकाहिँ चैँ नगर्ने भन्छ। तर, यो काम गर्नसक्यो भने अहिले पनि धेरै राम्रो छ। उ पनि अर्को काम खोजेर किन भौतारिरहने?’
काठको आफ्नै विशेषता
काम गर्दा काठ कहिले ग्राहकले नै दिन्छन् भने कहिले आफैँले ल्याउनुपर्छ। काठको प्रजातिमध्ये ‘अशुद्द' भनेर अग्राठ काठलाई मानिन्छ। त्यहि भएर त्यो विशेषगरी मन्दिरमा त झन् प्रयोग नै गर्न हुँदैन भन्ने मान्यता थियो।
तर, पछिल्लो समय भने सबै सम्पदा र मन्दिरहरूमा अग्राठका काठ नै प्रयोग गरिँदै आएको छ। यसअघि भने चापको काठ प्रयोग हुने गर्थ्यो। यसलाई भने शुद्ध मानिने उनी बताउँछन्।
‘चापलाई चैँ काठको राजा भन्छ। त्यो मात्र हाल्छ। तर, अहिले अग्राठ बलियो छ, अहिले त जहाँ पनि त्यहि हाल्छ। हामीले तलेजुमा काम गर्यो। त्यहाँ अग्राठ कुनै पनि थिएन। अहिले त सब अग्राठ छ। हाल्न नमिल्ने हो। तर, अहिले शुद्ध-अशुद्ध भन्दा पनि कत्तिको बलियो छ भनेर हेरिन्छ’, उनले सुनाए।
अग्राठ काठ भनेको हजार वर्ष लहरा, हजार वर्ष टहरा अनि हजार वर्ष पहरा भएर तीन हजार वर्षसम्म टिक्छ भन्ने मान्यता रहेछ। ढोकाको नाघ्ने ठाउँमा राख्ने भएर त्यसलाई शुद्ध काठ भनिएको रहेछ। जब कि त्यो काठले पूरै घरलाई थेग्न सक्ने क्षमता राख्छ। आयु पनि निकै लामो हुन्छ।
‘अहिले त अग्राठ काठ नहालेसम्म बिल नै पास हुँदैन। काम गर्नको लागि अझ सजिलो त रानी सल्ला हो नि! तर, त्यो अहिले कसैले पनि प्रयोग गर्दैन। त्यो चैँ स्वास्थ्यको लागि पनि राम्रो हुन्छ। फोक्सोमा समस्या भएकोहरूलाई त्यो काठको वरिपरि बस्यो भने ठिक हुन्छ भन्छन्। विशेषगरी बैठकहरूमा त्यो काठको प्रयोग हुन्छ’, उनले भने।
भूकम्पपछि सबैले एकैपटक घर बनाउँदा कामको चटारो भए पनि अहिले भने आरामले काम गर्नसक्ने अवस्था भएको उनले सुनाए। यति भनेर उनि फेरि काठमा बुट्टा कुँदेर देवता निकाल्न व्यस्त भए।
भदौ ११, २०८० सोमबार १७:२०:२० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।