ताजिकिस्तानमा भारी वर्षाका कारण १३ जनाको मृत्यु

ताजिकिस्तानमा भारी वर्षाका कारण १३ जनाको मृत्यु

एजेन्सी : मध्य ताजिकिस्तानमा भारी वर्षाका कारण कम्तीमा १३ जनाको मृत्यु भएको छ।

राजधानी दुशान्बेको दक्षिण र पूर्वका क्षेत्रमा आइतबार आएको आँधीबेहरीका कारण करिब एक दर्जन जिल्लामा पहिरो गएको देशको आपतकालीन मन्त्रालयका प्रवक्ताले बताएका छन्।

‘भारी वर्षाका कारण हिजो प्राकृतिक विपत्ति आएको र वाहदातमा ११ र रुदाकी जिल्लामा दुई जना गरी १३ जनाको मृत्यु भएको छ।’ राष्ट्रपति इमोमाली रहमोनको कार्यालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ।

प्रवक्ताले पहिरोको थप जोखिम अझै उच्च रहेको बताएका छन्।

मध्य एसियाका पूर्व सोभियत राष्ट्रहरूमध्ये सबैभन्दा गरिबमध्येको एक ताजिकिस्तान प्राकृतिक विपत्तिको चपेटामा छ।

पामिर पर्वतले घेरिएको अफगानिस्तान, चीन र किर्गिजस्तानको सिमानामा रहेको ताजिकिस्तानको दक्षिणको स्वायत्त क्षेत्र माथिल्लो बदख्शानमा गत फेब्रुअरीमा पनि दर्जनौँ हिमस्खलनका कारण ठाउँठाउँमा पहिरो र चट्टान खसेका थिए।

भदौ ११, २०८० सोमबार १६:४६:४६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।