‘नाडा अटो शो २०२३’ को आयोजना हुँदै, २० अर्बको कारोबार हुने अनुमान

‘नाडा अटो शो २०२३’ को आयोजना हुँदै, २० अर्बको कारोबार हुने अनुमान

काठमाडौं : दशैंलाई लक्षित गर्दै नाडा अटो मोबाइल्स एशोसिएशन अफ नेपालले विभिन्न ब्राण्डमा गाडीको प्रदर्शनी गर्ने भएको छ। 

सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै नाडा अटोमोबाइल्सले यहि भदौ २६ गतेबाट ३१ गतेसम्म भृकुटीमण्डपमा ‘नाडा अटो शो २०२३’ आयोजना गर्न लागेको जनाएको हो।

पत्रकार सम्मेलनमा बजार सुस्ताएको अवस्थामा विभिन्न अटोमोबाइल कम्पनीहरूको उत्साहजनक सहभागिताले केहि हदसम्म अर्थतन्त्र चलायमान बनाउन सहयोग पुग्ने नाडा अटोमोबाइल्सका सभापति अनुप कुमार बरालले बताए।

उनले भने,‘अफ्ठ्यारो परिस्थितिमा पनि अटो शो गर्न लागिरहेका छौँ। यहि कार्यक्रमलाई व्यापक पार्नका लागि हामीले अटो बिगेश अफ नेपाल टक शो पनि आयोजना गर्दैछौँ।’

उनका अनुसार यसमा प्रवेश शुल्क २ सय र विद्यार्थीका लागि १५० लाग्नेछ। यो टिकट काट्नका लागि खल्ती एप प्रयोग गर्नुपर्ने हुन्छ।

यस ‘नाडा अटो शो २०२३’बाट २० खर्बको कारोबार गर्ने लक्ष्य राखिएको समेत उनले बताए।

उनले भने,‘हामीले यो प्रदर्शनीबाट ४० प्रतिशत जति गाडी तथा सवारी साधनहरू बिक्री गर्ने लक्ष्य राखेको छौँ। सोही अनुसार हामीले २० खर्बको कारोबार हुने हाम्रो अनुमान छ।’

नाडा अटोमोबाइल्सका एशोसिएशन अफ नेपालका अध्यक्ष धुव्रबहादुर थापाले कोरोनाको महामारीबाट थलिएको अटो प्रदर्शनीले कोरोना महामारीका कारण थलिएको अटो बिक्री वितरण सहज हुनसक्ने बताए।

यसका लागि पनि आफूहरूले ‘नाडा अटो शो २०२३’को आयोजना गर्न लागिएको उनले बताए। 

प्रदर्शनीमा ठूला तथा साना गरि करिब १२० वटा स्टल र ब्लक रहनेछन् भने अन्तर्राष्ट्रिय ब्राण्डमा सवारी साधन, लुब्रिकेन्ट, टायर, पार्ट-पुर्जाका साथै राष्ट्रिय ब्राण्डका अटो सामग्री उत्पादन एवं वस्तु तथा सेवा प्रदायकहरूको सहभागिता रहने आयोजकले जनाएको छ।

सभापति बरालका अनुसार प्रदर्शनीमा १६ वटा ब्राण्डका चार पाङ्ग्रे, २२ वटा ब्राण्डका २ पाङ्ग्रे, ७ वटा ब्राण्डका लाइट कमर्शियल भेहिकल, ९ वटा वित्तीय संस्था तथा ३० वटा लुब्रिकेन्ट, टायर ब्याट्री, पार्ट-पार्ट पुर्जाहरू लगायत ग्यारेजका उपकरण कम्पनीहरूको सहभागिता रहनेछ।

प्रदर्शनीमा जानेहरूको सुविधाका लागि आफ्नो सवारी साधनहरू पार्किङका लागि काठमाडौं मल, सैनिक कल्याणकारी भवन, पुरानो बसपार्कमा बन्दै गरेको भ्यूटावर लगायतमा व्यवस्था मिलाइएको छ भने त्यहाँबाट साझा यातायातको बस चढाएर प्रदर्शनी हेर्न लगिनेछ।

यो अटो नाडाको १५ औँ संस्करण हो।

भदौ ११, २०८० सोमबार १६:३२:२५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।