सुन तस्करीसहितका सबै विषयमा समितिमा छलफल हुन्छ  ः नवनिर्वाचित सभापति खतिवडा

सुन तस्करीसहितका सबै विषयमा समितिमा छलफल हुन्छ  ः नवनिर्वाचित सभापति खतिवडा

काठमाडौं :  संघीय संसद् प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको सभापतिमा कांग्रेस सांसद रामहरि खतिवडा निर्विरोध निर्वाचित भएका छन्।

सोमबार सिंहदरबारमा बसेको बैठकमा समितिका ज्येष्ठ सदस्य चित्रबहादुर केसीले खतिवडा सभापतिमा निर्विरोध निर्वाचित भएको घोषणा गरेका हुन्।

सत्तापक्ष र प्रतिपक्ष सबै दलको साथ पाएर समितिको सभापतिमा निर्विरोध निर्वाचित भएका खतिवडाले सुन तस्करी प्रकरण लगायतका सबै विषयमा समितिमा छलफल हुने बताए।

उनले सबै पक्षलाई मिलाएर समितिले निर्णय गर्ने परम्पराको विकास गर्ने प्रतिबद्धतासमेत व्यक्त गरे।

‘यो समितिमा पनि अव हामी सबैको, पार्टीको भन्दा पनि सबैको बनाएर लिएर जान चाहन्छौं। म काँग्रेसबाट निर्वाचित भएपनि यो समिति पक्ष, विपक्ष नगरीकन सबैको पक्ष बनाएर हामी यसलाई अहिलेको समसामयिक विषयमा सबैसँग सल्लाह गरेर निर्णय गर्ने परम्पराको विकास गर्छौं।’, उनले भने, ‘मेरो होइन, हाम्रो भन्ने परम्पराको विकास गरेर अगाडि बढ्छ। यो समिति सरकारविरोधी पनि हुँदैन र सरकार पक्षको पनि हुँदैन। समिति समितिका रुपमा अगाडि बढ्छ। सुनकाण्ड लगायतका सबै विषयमा छलफल हुन्छ।’

नवनिर्वाचित सभापति खतिवडाले राज्य व्यवस्था तथा सुशासन समिति संवेदनशील समिति पनि भएकाले आफूहरुले सोही अनुसारको कार्ययोजना बनाएर अघि बढ्नेसमेत बताए।
 

भदौ ११, २०८० सोमबार १६:२५:५२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।