क्रिकेटमा ‘रेड कार्ड’ पाउँदै मैदान छोड्ने पहिलो खेलाडी बने सुनील नारायण
काठमाडौं : क्रिकेटमा ‘स्लो ओभर रेट’ का कारण पहिलो पटक ‘रेड कार्ड’ को प्रयोग भएको छ। वेस्ट इन्डिजको क्यारेबियन प्रिमियर लिग (सीपीएल) मा ‘रेड कार्ड’ को प्रयोग भएको हो।
आइतवार ट्रिनबागो नाइट राइडर्स र सेन्ट किट्स एन्ड नेभिस प्याट्रियट्सबीचको खेलमा राइडर्सले ‘रेड कार्ड’ पाएको हो।
नेभिस प्याट्रियट्सबीचको खेलमा बलिङ गरेको राइडर्स आफ्नो अन्तिम तीन ओभरको खेल शुरु हुने बेलामा आवश्यक ओभर रेट भन्दा पछि परेको थियो।
यही कारण अम्पायरले टिमलाई ’रेड कार्ड’ देखाए र कप्तान कायरन पोलार्डको आग्रहमा स्पिनर सुनील नारायण मैदानबाट बाहिर जानुपर्याे।
त्यसबेला नारायणले आफ्नो चार ओभर पूरा गरिसकेका थिए।
खेलको अन्तिम ओभरमा टिमले १० जना खेलाडीका साथ फिल्डिङ गरेको थियो। यो खेलमा राइडर्स छ विकेटले विजयी भयो।
क्रिकेटमा ‘रेड कार्ड’ प्रयोग भएको यो पहिलो पटक हो।
यसअघि सीपीएलका प्रतियोगिता सञ्चालन निर्देशक माइकल हलले पछिल्लो समय टी–२० क्रिकेटको समय बढ्दै गएकाले त्यसलाई नियन्त्रण गर्न ‘रेड कार्ड’ को नियम लागू गरिने बताएका थिए।
भदौ ११, २०८० सोमबार १५:०५:५९ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।