सरकारले मच्छर नियन्त्रण गर्न नकस्दा दर्जनौं मानिस मरे : प्रभु शाह

सरकारले मच्छर नियन्त्रण गर्न नकस्दा दर्जनौं मानिस मरे : प्रभु शाह

काठमाडौं : आम जनता पार्टीका अध्यक्ष प्रभु शाहले सरकारले लामखुट्टे (मच्छर) नियन्त्रण गर्न नसक्दा दर्जनौं मानिसले ज्यान गुमाउनुपरेको बताएका छन्।

काठमाडौंको कमलादीमा भएको केन्द्रीय कमिटी बैठकमा सांसदसमेत रहेका संयोजक शाहले सरकारको गैर जिम्मेवारीका कारण दर्जनौं मानिसले ज्यान गुमाइरहेको बताएका हुन्।

देशमा लाखमुट्टेका कारण हजारौं बिरामी परिरहेको भन्दै सरकारी ओहदामा बसेर ब्रम्हलुट मच्चाइरहेकाहरूलाई जिम्मेवार बन्न सुझाए।

‘मच्छरलाई नियन्त्रण गर्न नसकेर दर्जनौं मान्छे मरिराका छन्, हजारौं बिरामी परिराका छन्। के मच्छर नियन्त्रणै गर्न नसक्ने विषय हो?,’ उनले भने, ‘यो सरकार यति गैरजिम्मेवार कसरी हुनसक्छ। सरकारी ओहदामा बसेर लुट्नेहरू कसरी गैरजिम्मेवार हुनसक्छन्?’

मदरसा लगायतका शिक्षाको बारेमा सरकारको स्पष्ट नीति नभएको, विदेश नीतिमा राज्यको एक मत हुनुपर्ने, राष्ट्रियताको विषयमा पार्टी एकमत भएर अघि बढ्ने बताए।

केन्द्रीय कमिटी बैठकमा लिखित रुपमा आएका दस्तावेजमाथि गहन अध्ययन हुने भन्दै उनले बदलावका बाटोले मात्र देश अघि बढ्ने बताए।

भदौ ११, २०८० सोमबार १५:०२:३२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।