सारुक आत्महत्या घटनाबारे बल्ल बोलिन अभिनेत्री नम्रता, एकपक्षीय पेलेको दाबी
काठमाडौँ : अभिनेता सारुक ताम्राकार आत्महत्या घटनामा अनुसन्धानमा तानिएको अभिनेत्री नम्रता श्रेष्ठले घटनाबारे लामो मौनता तोडेकी छिन्।
सारुक आत्महत्या लगत्तै सार्वजनिक सम्पर्क र सामाजिक सञ्जालमा निष्क्रिय रहेकी उनले आफ्नो फेसबुक पेजमा सोमबार आफ्नो धारणा सार्वजनिक गरेकी हुन्।
उनले उनीमाथि उठिरहेको प्रश्नबारे भन्दा पनि सारुक आत्महत्या घटनाबारे कलाकार, कलाकारसँग सम्बन्धित संस्थाबाट आएका धारणा र सञ्चारमाध्यममा प्रेषित समाचारबारे आफ्नो धारणा राखेकी छिन्।
प्रहरीको सम्पर्कभन्दा बाहिर रहेकी उनी प्रहरी कार्यालय गएर सारुक आत्महत्या घटनाबारे बयान दिएपछि फेसबुकमा आफ्नो धारणा राखेकी हुन्।
उनले फेसबुकमा ह्यासट्याग माया फिल्म छायाँकनकोक्रममा सोही चलचित्रका कलाकार तथा नायक सारुक आफ्नै घरमा झुन्डिएर आत्महत्या गरेको खबरले सम्पूर्ण चलचित्र जगतलाइ दुखी तुल्याएको उल्लेख गरेकी छिन्।
सारुकबारे उनले लेखेकी छिन्'स्वर्गीय कलाकार एक सम्भावना बोकेका कलाकार थिए। उनी सहयोगी भावना भएका मिलनसार ब्यक्ती थिए। यो घटनाले हामीलाई अचम्मित तुल्याएको छ..।'
उनले घटना पुरानो भए पनि अहिले सामाजिक सञ्जालमार्फत केही बोल्न बाध्य भएको भन्दै घटनामा आफूलाई एकलौटी रूपमा विभिन्न मिडिया मार्फत कपोकल्पित समाचारहरू लेख्न र लेखाउन केही अनलाइन मिडिया, केही सिनेकर्मी र केही पदाधिकारी पूर्वाग्रही हिसाबले लागेको आरोप लगाएकी छिन्।
उनले गम्भीर घटनामा 'लैङ्गिक भिक्टिम कार्ड' खेल्दै आफू महिला भएकै कारण यती धेरै सामाजिक आक्रमण भएको होला भनेर लेखेकी छिन्' किनकि यो पुरुष प्रधान समाज हो। ठिकै छ ..मेरो मौनतालाई कमजोरी नठान्न अपिल गर्दछु , म एक महिला मात्र नभएर कलाकार पनि हो अनि नेपाली नागरिक ..हरेक नेपाली नागरिकको बाच्ने पाउने नैसर्गिक अधिकार हुन्छ। सायद यो देशमा कानुन मरेको छैन..यो कानुनी राज्य हो।'
उनले घटनापछि थुप्रै मिडियाबाट कल आएको तर आफ्नो फोन दाइसँग भएको र अहिले पनि परिवारले नै ह्यान्डल गरिरहेको लेख्दै मिडियामा बोल्दा अनुसन्धानमा असर पर्छ भनेर परिवारबाट बोल्ने अनुमति नभएको उल्लेख गरेकी छिन्।
'यो घटनासँग जोडिएका बनावटी समाचार र विभिन्न भिडियो कानुनी टिमले हेर्ने भन्दै प्रहरी प्रशासनले बोलाइएको बेला उपस्थित भएर वास्तविक कुरा बयान दिनु स्वाभाविक रहेको उल्लेख गरेकी छिन्।
'म आफू बिरामी नै थिएँ। परिवारकै रेखदेखमा रहेँ.. जब मलाई प्रहरी प्रशासनबाट बोलावट भयो तुरुन्त प्रहरी कार्यालय हाजिर भएर घटनाबारे जे यथार्थ थियो र हो सबै बताएँ' उनले लेखेकी छिन्।
उनले यो घटनासँग जोडिएको तन्त्र विद्या र कालो बुटीबारे समेत आफ्नो धारणा राखेकी छिन्। उनले
उनले कालो बोका र बुटीको कुरालाई फण्डा बनाइएको भन्दै अहिलेको एक्काईसौ शताब्दीमा आएर यस्तो रूढिवादी कुरा गर्नु कत्तिको युत्तिसंगत हुन्छ होला?' भन्दै प्रश्न गरेकी छिन्।
सारुक आत्महत्यापछि उनको गलामा परिवारले कालो बुटी फेला पारेको थियो। सो फिल्मका निर्देशक राजीव गुरुङले मसानघाटमा भएको पूजादेखि बोकासम्मको घटना खुलाइसकेका छन्।
उकेराले नम्रताले गुरु भन्ने ईश्वरसँग कुरा गर्दा उनले दोलालघाट गएर पुजा गरेको र बुटी दिएको स्वीकार गरेका छन्। यसबारेको अडियो उकेरासँग सुरक्षित नै रहेको छ।
प्रहरीले निर्देशक गुरुङसहित गुरु भनिएका ईश्वर अधिकारीसँग समेत बयान लिइसकेको छ।
फेसबुकमा नम्रताले देश लोकतन्त्रपछि धर्मनिरपेक्ष मुलुक भएको र सबैलाई धर्म मान्ने स्वतन्त्रता रहेको लेख्दै अनुसन्धानलाई प्रभाव पार्ने काम नगर्न आग्रह गरेकी छिन्।
भदौ ११, २०८० सोमबार १४:११:३६ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।