विदेश पठाइदिन्छु भन्दै रकम ठगी गर्ने चार जना पक्राउ

विदेश पठाइदिन्छु भन्दै रकम ठगी गर्ने चार जना पक्राउ

काठमाडौं : काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले वैदेशिक रोजगारीका लागि विभिन्न मुलुक पठाइदिने भन्दै रकम ठगी गरेको अभियोगमा चार जनालाई विभिन्न स्थानबाट पक्राउ गरी सोमबार सार्वजनिक गरेको छ।

पक्राउ पर्नेमा नवलपरासी देवचुली नगरपालिका–८ घर भई काठमाडौं टोखा नगरपालिका–३ बस्ने ३० वर्षीय समीर आलेमगर, रामेछाप उमाकुण्ड गाउँपालिका–१ घर भई काठमाडौं कागेश्वरी मनोहरा नगरपालिका–८ गोठाटार बस्ने ३५ वर्षीया शर्मिला सुनुवार रहेका छन्।

 त्यसैगरी सल्यान कपुरकोट गाउँपालिका–३ घर भई भक्तपुर सूर्यविनायक नगरपालिका–१ बस्ने ५१ वर्षीय जगतबहादुर खड्का र कास्की पोखरा महानगरपालिका घर भई ललितपुर महानगरपालिका–१४ नख्खीपोट बस्ने ४० वर्षीया तारा गुरुङ पनि पक्राउ परेका छन्।

पक्राउ परेका मध्ये मगरले दुई जनालाई क्यानडा पठाइ प्रतिष्ठित मार्केटमा मासिक रु दुई लाख तलबमा काम लगाइदिने जनाउँदै पीडितहरुबाट रु पाँच लाख ४५ हजार ठगी गरेको प्रहरीले जनाएको छ।

त्यसैगरी सुनुवारलाई एक जनालाई क्रोएसिया पठाइ फुड प्याकिङमा मासिक रु एक लाख तलबमा काम लगाइदिने भन्दै पीडितबाट पटकपटक गरी रु दुई लाख ठगी गरेको र खड्कालाई एक जनालाई कुवेत पठाइ बाइक राइडरमा मासिक रु ५० हजार तलबमा काम लगाइदिने भन्दै पीडितबाट पटकपटक गरी रु एक लाख ९४ हजार ठगी गरेका आरोपमा पक्राउ गरिएको हो। 

यसैगरी गुरुङलाई एक जनालाई नेदरल्याण्ड्स पठाई सुपर मार्केटमा मसिक रु एक लाख तलबमा काम लगाइदिने जनाउँदै प्रलोभनमा पारी पीडितबाट पटकपटक गरी रु तीन लाख ४५ हजार ठगी गरेको आरोपमा पक्राउ गरिएको हो।

भदौ ११, २०८० सोमबार १३:१९:२० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।