ललिता निवास प्रकरणमा बाबुराम भट्टराईको बयान : तत्कालीन मुख्य सचिवको विश्वासमा निर्णय पास भएका हो

ललिता निवास प्रकरणमा बाबुराम भट्टराईको बयान : तत्कालीन मुख्य सचिवको विश्वासमा निर्णय पास भएका हो

काठमाडौं : सरकारी कागजात किर्ते गरी व्यक्तिको नाममा गर्न निर्णायक भूमिका निभाएका तत्कालीन प्रधानमन्त्री बाबुराम भट्टराईले मन्त्रीपरिषद्मा सम्पूर्ण अध्ययन भएर आएको फाइल आफूले सदर गरेको बयान दिएका छन्।

तत्कालीन मुख्य सचिव लीलामणि पौड्यालले कार्यविधि अनुसार मन्त्रीपरिषद्मा पेस भएका प्रस्ताव माथि मुख्य सचिवले अध्ययन गर्ने अधिकार भए पनि नगरेको बयान गरेका थिए। यस्तै प्रकृतिको बयान तत्कालीन प्रधानमन्त्री बाबुराम भट्टराईले गरेका छन्। पौड्याललाई भट्टराईले नै नियुक्ति गरेका थिए। 

भट्टराईको बयानको सम्पादित अंश :

यो प्रकृयागत रुपमा भूमि व्यवस्था मन्त्रालयबाट उठी आएको प्रस्ताव हो। मन्त्रीपरिषद्मा पेस भई मन्त्रीपरिषद्बाट सामाजिक समितिमा पठाइएको थियो। सामाजिक समितिको सुझाव अनुसार मन्त्रीपरिषद्ले प्रस्तावमा लेखिए बमोजिम गर्न स्वीकृती दिएको हो। सम्पूर्ण विधि प्रकृया पुरा गरेर विधिवत् रुपमा मन्त्रीपरिषद्मा पेस भएको प्रस्ताव उपर छलफल भई सामूहिक रुपमा गरिएको निर्णय हो। म करिब १८ महिना नेपालको प्रधानमन्त्री पदमा बहाल रहेको अवस्थामा हजार भन्दा बढी प्रस्तावहरू मन्त्रीपरिषद्मा पेस भए होलान्। सबै प्रस्तावको प्राविधिक पक्ष याद हुने कुरा भएन।मन्त्रीपरिषद्को कार्यालयमा रहेको अभिलेखबाट अवगत हुन सक्छ।

मन्त्रीपरिषद्को निर्णय सरकारी जग्गा व्यक्ति विशेषलाई दिने भन्ने होइन। उल्लेखित प्रस्ताव मन्त्रीपरिषद्को सामाजिक समितिमा छलफल गरी पेस गर्न पठाएको हो। उक्त समितिको मिति २०६९।६।१४ मा बसेको बैठकले पेस गरे अनुसार ‘पुनः नापी बमोजिम नेपाल सरकार, समरजंग कम्पनीको नाममा दर्ता भएको जग्गाको दर्ता सच्याई साविक लगत बमोजिम श्री पशुपति टिकिन्छा गुठीको नाममा दर्ता गर्न स्वीकृती दिने’ भन्ने मन्त्रीपरिषद्बाट निर्णय भएको हो।

मन्त्रीपरिषद्मा पेस भएको प्रस्तावमा साविक लगत बमोजिम भन्ने ब्यहोरा उल्लेख भएकोले सोही अनुसार निर्णय भएको हो। मन्त्रीपरिषद्मा निर्णयार्थ पेस हुने सम्बन्धित मन्त्रालयको प्रस्ताव मुख्य सचिव मार्फत मन्त्रीपरिषद्मा पेस हुने हो। यसरी पेस भएको प्रस्तावमा कुनै किसिमको कानुनी वा अन्य त्रुटी छैन भन्ने विश्वासमा प्रस्ताव उपर निर्णय गरिन्छ। यी निर्णयहरूमा मेरो व्यक्तिगत र पारिवारिक स्वार्थ, चाहना वा चासो जोडिएको विषय होइन, मेरो सार्वजनिक जीवन र नैतिक आचरण निष्कलंक रहि आएको छ, यसरी चर्चामा आएको प्रस्तुत विषयमा मेरो कुनै किसिमको बदनियत वा गलत मनसायले गरिएको निर्णय होइन।

भदौ ११, २०८० सोमबार १२:३८:२१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।