‘ब्याड टच’ आरोप लागेका शिक्षक प्रहरीकै अगाडि कुटिएपछि चर्कियो आन्दोलन

‘ब्याड टच’ आरोप लागेका शिक्षक प्रहरीकै अगाडि कुटिएपछि चर्कियो आन्दोलन

कैलाली : कञ्चनपुरमा ‘ब्याड टच’ आरोप लागेका शिक्षक प्रहरीकै अगाडि कुटपिट गरिएको विरोधमा शिक्षकको आन्दोलन चर्किदै गएको छ।

जिल्लाको भीमदत्त नगरपालिका–१० जिमुवास्थित सिद्धनाथ माध्यमिक विद्यालयमा लेखा सहायक पदमा कार्यरत वीरेन्द्र प्रसाद जोशीलाई कुटपिट गरिएको विरोधमा कआन्दोलन चर्किंदै गएको हो।

नेपाल शिक्षक महासंघ जिल्लास्तरीय आन्दोलन परिचालन समितिले सोमबारदेखि सामुदायिक तथा संस्थागत विद्यालय अनिश्चितकालीन रुपमा बन्दको घोषणा गरेका छन्। 

जिल्लास्तरीय आन्दोलन परिचालन समितिको आइतबार बसेको बैठकले आन्दोलनलाई जिल्लाव्यापी बनाउने निर्णय गरेको हो। 

भदौ ३ गते एक छात्राले शिक्षक जोशीले आफूलाई ‘ब्याड टच’ गरेको आरोप लगाएकी थिइन्।शिक्षक जोशीले भने छात्रालाई दुर्व्यवहार नगरेको दाबी गरेका छन्। 

प्रहरीले हतकडी लगाएर भ्यानसम्म ल्याउँदा विद्यालय परिसरमा एक समूहले जोशीलाई निर्घात कुटपिट गरेको थियो। सुरक्षा दिनुपर्ने प्रहरीको नियन्त्रणमा रहेका जोशी कुटिँदा प्रहरी मूकदर्शक बनेको आरोप छ।

घाइते जोशीको अहिले धनगढीको निसर्ग अस्पतालमा उपचार भइरहेको छ। नेपाल शिक्षक महासंघ तीन बुँदे माग अघि सारेर आन्दोलनमा होमिएको संयोजक वीरेन्द्रसिंह भण्डारीले बताए। 

भदौ ३ गतेको घटनाको निष्पक्ष न्यायिक छानबिनका लागि उच्चस्तरीय छानबिन समिति गठन, विद्यालयले किटानी जाहेरीका साथै फोटो र भिडिओमा देखिएका अराजक व्यक्तिलाई खोजी गरेर कानुनी दायरामा ल्याउनुपर्ने र सुरक्षामा खटिएका प्रहरी निरीक्षक सीताराम विष्टलगायत अन्य प्रहरी कर्मचारीलाई निलम्बन गरेर कारबाही हुनुपर्ने शिक्षकको माग छ।

शिक्षकले घोषणा गरेको अनिश्चितकालीन विद्यालय बन्दको प्रभावले विद्यालयमा पठनपाठन ठप्प छ। सोमबारै महेन्द्रनगरमा शिक्षकहरुले ¥याली निकाल्ने तयारी गरेका छन्।

माग सम्बोधनको दबाबका लागि ¥यालीका साथै प्रशासनमा धर्ना बस्ने कार्यक्रम छ।

सोमबार बेलुकासम्म आफूहरुका माग सम्बोधन नभए थप आन्दोलनका कार्यक्रम अघि बढ्ने चेतावनी शिक्षकहरुले दिएका छन्।

भदौ ११, २०८० सोमबार ११:५४:२९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।