बञ्चरेडाँडाबासी फेरि आन्दोलित, असोज १ गतेदेखि फोहोर फाल्न नदिने

बञ्चरेडाँडाबासी फेरि आन्दोलित, असोज १ गतेदेखि फोहोर फाल्न नदिने

काठमाडौं : संघीय सरकार र काठमाडौं महानगरपालिकाले गरेको सम्झौता कार्यान्वय नगरेको भन्दै बञ्चरेडाँडाबासी फेरि आन्दोलित हुनुभएको छ।

उपत्यकाका १८ वटा नगरपालिकाले फोहोर फाल्दै आएको बञ्चरडाँडा क्षेत्रमा आउदो असोज १ गतेदेखि फोहोर बिर्सजनमा रोक लगाउने बञ्चरेडाँडा संघर्ष समितिका संयोजक श्रीराम ढुंगानाले बताए। 

‘फोहोर र मानिससँगै बस्न सक्दैनौं। हामीलाई यहाँबाट हटाइयोस् र फोहोरको सही ढंगले व्यवस्थापन होस् भनेर प्रधानमन्त्री कार्यालयदेखि काठमाडौं महानगरपालिकासम्मलाई ध्यानाकर्षण गरायौं,’ संघर्ष समितिका संयोजक ढुंगानाले भने, ‘ कतैबाट पनि सुनुवाइ भएन।’ 

फोहोरको दुर्गन्धका कारण ओखरपौवा, चाउथे, ककनीसम्मका बासिन्दा घरमा बस्नै नसक्ने भएको गुनासो गरेका छन्। 

त्यस्तै धादिङ, धुनिबेसी नगरपालिका–१ का स्थानीय बढी चपेटामा परेको उनले बताए।

उनले भने, ‘आज दिउँसो पत्रकार सम्मेलन गरेर सरकारलाई जानकारी गराउँछौं। यसबीचमा सरकारले विकल्प दियो भने हामी चुप लाग्छौं। अन्यथा असोज १ गतेदेखि हाम्रो ठाउँमा फोहोर फाल्न दिँदैनौं।’

काठमाडौं ,ललितपुर महानगरसहित उपत्यकाका १८ वटाभन्दा बढी नगरपालिकाको दैनिक ११ सय बढी टन फोहोर बञ्चरेडाँडा ल्यान्डफिल साइटमा व्यवस्थापन हुँदै आएको छ।

भदौ ११, २०८० सोमबार ११:२०:३६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।