भारत र पाकिस्तानसँग हामी दिल खोलेर खेल्नेछौं : ​​​​​​​सन्दीप लामिछाने

भारत र पाकिस्तानसँग हामी दिल खोलेर खेल्नेछौं : ​​​​​​​सन्दीप लामिछाने

काठमाडौं : सन्दीप लामिछानेले एसिया कपमा भारत र पाकिस्तानसँग खेल्न पाउनु टिमका लागि कुनै पर्व जस्तो भएको बताएका छन्।

सोमबार (आज) पाकिस्तान जानुअघि विमानस्थलमा पत्रकारहरूसँग कुरा गर्दै उनले भारत र पाकिस्तानसँग खेल्न पाउनु गर्वको कुरो भएको बताए।

उनले भने, ‘सबै नेपालीका लागि यो गर्वको कुरो हो। यसमा हार जितभन्दा पनि उहाँहरूसँग सिक्न सक्ने कुरा महत्वपूर्ण हो। हामी हाम्रो दिल खोलेर खेल्ने छौं। हामीलाई जति आउँछ त्यति खेल्नेछौं।’

‘यो हाम्रो लागि पर्व जस्तै हो। सधैं यस्तो टिमसँग खेल्न पाइँदैन। र अब एकपटक खेलिसकेपछि भारत र पाकिस्तानसँग कसरी निरन्तर खेल्न सकिन्छ त्यसको व्यवस्था गर्नुपर्छ,’ उनले थपे।

उनले एसिया कपमा अगाडि टिमसँग छुटिए पनि एक्लै तयारी गरिरहेको बताए।

‘म यहाँ आफ्नो तर्फबाट जसरी सक्थें प्राक्टिस गरिरहेको थिएँ। एकदम फिट छु। खेल्नका लागि रेडी छु। आशा छ कि हामी यो एसिया कपमा राम्रो गर्छौ,’ उनले भने।

‘एकदमै टफ टाइम भइरहेको छ, तर कुनै न कुनै तरिकाले विकल्प खोजिराखेको छु। टिमसँग नभए पनि मैले आफैंले गरिराखेको छु। जाने बित्तिकै टिमसँग घुलमिल हुन धेरै मलाई समय लाग्दैन,’ उनले थपे।

भदौ ११, २०८० सोमबार १०:५९:१२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।