सर्वोच्चमा भोलिदेखि मुद्दाको पेसी तारिख स्वचालित प्रणालीबाट

सर्वोच्चमा भोलिदेखि मुद्दाको पेसी तारिख स्वचालित प्रणालीबाट

काठमाडौं : सर्वोच्च अदालतले भोलि सोमवारदेखि पेसी तारिखका लागि स्वचालित (अटोमेसन) लागू गर्ने भएको छ। 

नवनियुक्त प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले न्यायालयभित्र हुने अनियमिततालाई कम गर्न भोलिदेखि यो प्रणाली शुरु गर्न लागेको जानकारी दिए।

आइतवार आफूलाई बधाई दिन कार्यकक्षमा पुगेका संवैधानिक तथा न्यायिक पत्रकार मञ्चमा आबद्ध पत्रकारहरूसँगको भेटमा प्रधानन्यायाधीश श्रेष्ठले अदालतभित्र हुने अनियमितता हुनै नदिन आफूले प्रविधिको प्रयोगमा जोड दिएको बताए। 

उनले तारिख तोक्ने काममा कर्मचारीहरूको हस्तक्षेप हुन नदिन आफूले यो प्रणालीको शुरुवात गर्नुपरेको बताए। सर्वोच्च अदालतपछि काठमाण्डौ जिल्ला अदालतमा तत्काल यो प्रणाली लागू गर्ने प्रधानन्यायाधीश श्रेष्ठको योजना छ। 

उनले न्याय सेवामा हुने अनियमितताको भने न्याय परिषदबाट छानबिन हुने भएकाले त्यसमा चिन्ता गरिरहनु नपर्ने बताए।

मुद्दाको बोझ धेरै भएको तर दरबन्दीअनुसार न्यायाधीशसमेत नहुँदा अप्ठेरो भइरहेको उनको भनाई थियो।

प्रधानन्यायाधीशले न्यायालयप्रति जनआस्था जगाउने गरी समाचार सम्प्रेषण गर्न पनि सञ्चारकर्मीहरूलाई आग्रह गरे।

१० भदौ, २०८०, १७:०२:१७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।