सन्दीप लामिछानेविरुद्धको मुद्दामा भएन सुनुवाइ ,एसिया कप खेल्न भोलि पाकिस्तान जाने

सन्दीप लामिछानेविरुद्धको मुद्दामा भएन सुनुवाइ ,एसिया कप खेल्न भोलि पाकिस्तान जाने

काठमाडौं : क्रिकेटर सन्दीप लामिछाने विरुद्धको बलात्कार मुद्दामा आज आइतबार पनि सुनुवाइ भएन।

न्यायाधीश प्रकाशप्रसाद पण्डितको इजलासले ५ औं नम्बरमा भएको मुद्दामा हेर्न नभ्याइने भनी आदेश गरेको हो।

बलात्कारको घटनाको साक्षी प्रमाणमा केन्द्रित भई न्याय निरुपण हुनुपर्ने मुद्दा पीडितको र उनको आमाको जन्म मितिको विवादसम्म पुगेको छ।

लामिछानेले पीडितको जन्ममितिको शंकास्पद कागजात पेस गरेका थिए। सम्बन्धित निकायमा त्यो कागजात नभेटिएपछि गत सोमबार न्यायाधीश राजुकुमार खतिवडाको इजलासले सन्दीपलाई कागज गराई सम्बन्धित निकायबाट प्रमाणित विवरण मगाउनु भनी आदेश गरेका थिए।

सन्दीपले जिल्ला अदालतमा कागज गर्दै ‘बयानका दिन कुनै शुभचिन्तकले आफूलाई त्यो कागजात दिएकाले प्रमाण हुने ठाँनी पेस गरेको’ जवाफ दिएका थिए।

थप कागजात मगाउन नपर्ने भएपछि जिल्ला अदालतले आइतबार नै पेशी तोकेको थियो।

आजका लागि तोकिएको सुनुवाइ स्थगित भएसँगै सन्दीप भोलि (सोमबार) पाकिस्तान जाने उनका वकिल सरोजकृष्ण घिमिरेले जानकारी दिए।

एसिया कप खेल्न उनी पाकिस्तान जान लागेका हुन्।

सन्दीपका कानुन व्यवसायीले यसअघि नै सन्दीपलाई पाकिस्तान पठाउने तयारी गर्न नेपाल क्रिकेट संघ (क्यान) लाई जानकारी गराइसकेको थियो।

भदौ १०, २०८० आइतबार १६:३१:२९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।