शक्तिको भरमा राजधानीमै बसेका ८०० बढी कर्मचारीलाई गाउँमा पठाइसक्यौं : स्वास्थ्यमन्त्री बस्नेत
पाटन : स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले राम्रा रणनीति र कार्ययोजनाहरू मन्त्री फेरिएपछि पनि कार्यान्वयन हुनुपर्ने बताएका छन्।
आइतबार ‘मेरो पोषण साथी मोबाइल एप’को शुभारम्भ कार्यक्रममा बोल्दै उनले राम्रा रणनीति र कार्ययोजना त्यसै थन्क्याउने र अलपत्र पार्ने परिपाटी बन्द गर्नुपर्ने बताए।
यस्तो गर्दा सरकारको ठूलो लगानी खेर जाने र नागरिकले प्रतिफल पनि नपाउने हुँदा समस्या निम्तिने मन्त्री बस्नेतको भनाइ छ।
‘आधारभूत स्वास्थ्य सेवा गाउँमा पुर्याउनुपर्ने कुरामा पक्षपातपूर्ण व्यवहार गरिएको थियो। हामीले यो तीन महिनामा उल्लेख्य काम गरेका छौं,’ उनले भने, ‘शक्तिको भरमा विभिन्न बहानामा राजधानीमा मात्रै थुप्रिएर बसेका आठ सयभन्दा बढी काजका कर्मचारीलाई सम्बन्धित ठाउँमा पठाएका छौं।’
‘अझै तीन महिनाभित्र धेरै प्रगति हुन्छ। हामीले राम्रा काम आफैबाट सुरु गर्नुपर्छ,’ उनले थपे।
स्वास्थ्य, शिक्षा र खाद्यान्न जनताको नैसर्गिक अधिकार हो भनेर संविधानमा नै व्यवस्था गरिएको तर्फ जोड दिंदै मन्त्री बस्नेतले हरेक नागरिक रोगबाट पीडित नहुने गरी प्रभावकारी ढङ्गबाट सातै प्रदेशमा अभियानको रुपमा स्वास्थ्य सचेतनाका कार्य राष्ट्रव्यापी रुपमा लैजानुपर्ने बताए।
भदौ १०, २०८० आइतबार १३:४०:४९ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।