लामिछानेविरुद्धको मुद्दा न्यायाधीश पण्डितको इजलासमा

लामिछानेविरुद्धको मुद्दा न्यायाधीश पण्डितको इजलासमा


काठमाडौं : सन्दीप लामिछानेविरुद्धको मुद्दामा आजदेखि नियमित सुनुवाइ हुने भएको छ।

नाबालिकामाथि बलात्कार गरेको आरोप लागेका लामिछाने विरुद्धको मुद्दामा काठमाडौं जिल्ला अदालतमा आजबाट नियमित सुनुवाइ गर्न लागेको हो।

मुद्दाको पेशी इजलास नम्बर १५ मा न्यायाधीश प्रकाशप्रसाद पण्डितको एकल इजलासमा तोकिएको छ। लामिछानेमाथि काठमाडौंको गौशालास्थित एक होटलमा नाबालिका बलात्कार गरेको आरोप छ।

गत बिहीबार न्यायाधीश राजुकुमार खतिवडाले पीडितकी आमाको जन्ममिति दुईथरी देखिएकाले यकिन गर्न पीडितको उमेरसम्बन्धी कागजात झिकाउन आदेश दिएका थिए। उक्त कागजात अदालतमा आइसकेको छ।

यसअघि मुद्दाको थुनछेक बहसका क्रममा जिल्ला अदालत काठमाडौंले लामिछानेलाई पुर्पक्षका लागि कारागार पठाउने निर्णय गरेको थियो। बाहिरबाट मुद्दा लड्न पाउने माग गर्दै लामिछाने जिल्ला अदालतको सो फैसलाविरुद्ध उच्च अदालत पाटनमा रिट दायर गरेका थिए।

पछि उच्च अदालत पाटनले २० लाख धरौटीमा छाड्न आदेश दिएको थियो। धरौटीमा रिहा भएपछि लामिछाने फेरि सर्वोच्च अदालत गएका थिए।

धरौटी रकम धेरै लिएको र विदेश जान रोकेकाले त्यसको विरुद्धमा सर्वोच्च पुगेका थिए। पछि सर्वोच्च अदालतले लामिछानेलाई क्रिकेट खेल्न विदेश जान अनुमति दिएको थियो। त्यसपछि उनलाई अन्तर्राष्ट्रिय रुपमा क्रिकेट खेल्नका लागि विदेश जान सहज भएको थियो।

पीडित किशोरीले आफन्तको सहयोगमा गत भदौ २१ गते गौशाला प्रहरी कार्यालयमा उजुरी दिएकी थिइन्। प्रहरीले लामिछानेलाई २० असोजमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरी हिरासतमा लिएको थियो।

भदौ १०, २०८० आइतबार ११:२५:२४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।