लम्पी स्किनबाट बागलुङमा ६ सय गाईवस्तु मरे, तीन करोड बढीको पशुधनमा क्षति

लम्पी स्किनबाट बागलुङमा ६ सय गाईवस्तु मरे, तीन करोड बढीको पशुधनमा क्षति
फाइल फोटो

बागलुङ : ‘लम्पी स्किन’ रोगको सङ्क्रमणबाट बागलुङमा तीन करोड रूपैयाँ बढीको पशुधनमा क्षति पुगेको छ। यसबाट जिल्लामा पाँच हजार तीन सय ८६ गाई गोरु र भैंसी प्रभावित भएको र हालसम्म छ सय १७ पशुको मृत्यु भएको बताइएको छ। 

रोगबाट क्षति हुने मुख्य पशुमा गाई गोरु रहेको भेटेरेनरी अस्पताल तथा पशु विज्ञ केन्द्र बागलुङले जनाएको छ।

केन्द्रले सङ्कलन गरेको तथ्याङ्क अनुसार स्थानीय गाई गोरु र भैंसीको करिब ३० देखि ४० हजार र उन्नत जातको एक लाखसम्मको मूल्य पर्ने भएकाले सरदरमा तीन करोडभन्दा बढीको पशुधनमा क्षति भएको भेटेरेनरी अस्पताल तथा पशु विज्ञ केन्द्र बागलुङका प्रमुख डा. ऋषिराम सापकोटाले बताए।

जिल्लामा फैलँदो क्रममा रहेको लम्पी स्किन रोगबाट पशुलाई बचाउन हाल खोप अभियानलाई प्रभावकारी बनाइएको छ। खोप लगाउने पशुको सङ्ख्या बढेपछि रोग नियन्त्रण उन्मुख भएको भेटेरेनरी अस्पताल तथा पशु विज्ञ केन्द्र बागलुङले जनाएको छ।

भदौ १०, २०८० आइतबार ०९:१३:४४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।