के-के हुँदैछ आज : संसदीय समितिका सभापतिको उम्मेदवारी मनोनयनदेखि राष्ट्रियसभा बैठकसम्म

के-के हुँदैछ आज : संसदीय समितिका सभापतिको उम्मेदवारी मनोनयनदेखि राष्ट्रियसभा बैठकसम्म

काठमाडौं : संसदीय समितिका सभापतिको उम्मेदवारी मनोनयन आज (आइतबार) हुँदैछ। 

प्रतिनिधिसभाको बिहीबारको बैठकमा सभामुखले मातहत गठित १० वटै विषय समिति सभापतिको निर्वाचन सोमबार दिउँसो ३ः०० बजेका लागि निर्धारण गरेका छन्।

यो घोषणासँगै ‘मिनी संसद्’का रूपमा लिइने संसदीय समितिको नेतृत्व चयन प्रक्रिया अघि बढेको छ। यसपटक प्रतिनिधिसभाको निर्वाचन भएको नौ महिनापछि मात्र संसदीय समितिको नेतृत्व चयन प्रक्रिया अघि बढेको हो।

समितिको कुनै सदस्यलाई सभापतिमा निर्वाचित गरियोस् भनी कुनै अर्का एक सदस्यको समर्थनसहित आज बिहान ११ः०० देखि दिउँसो ४ः०० बजेसम्म उम्मेदवारी मनोनयन प्रस्ताव दर्ता गराउन सक्ने निर्वाचन कार्यक्रम प्रकाशित गरिएको सचिव पद्मप्रसाद पाण्डेयले जानकारी दिए।

हाल समितिको ज्येष्ठ सदस्यको अध्यक्षतामा समिति बैठक बस्दै आएको छ। 

आइतबार संघीय संसद् भवन, नयाँ बानेश्वरमा राष्ट्रियसभा बैठक पनि बस्दैछ। बैठक दिउँसो १ बजेका लागि बोलाइएको छ।

राष्ट्रियसभाको सम्भावित कार्यसूची अनुसार आजको बैठकमा राष्ट्रपति कार्यालयबाट प्राप्त कार्यभार तोकिएको र विधेयक प्रमाणीकरण सम्बन्धी पत्रहरूको ब्यहोरा पढेर सुनाउने तथा प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयबाट प्राप्त कार्यभार तोकिएको पत्र पढेर सुनाइने छ। 

साथै कार्यसूचीमा विधान व्यवस्थापन समितिकी सभापति जयन्ती राईले संविधान अनुसार बन्न बाँकी रहेको कानुनहरूको अध्ययन प्रतिवेदन २०८० पेस गर्ने जनाइएको छ।

भदौ १०, २०८० आइतबार ०७:३२:३९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।