तातोपानी नाकाबाट मानव आवतजावत सहजीकरण गर्न सर्वपक्षीय छलफल

तातोपानी नाकाबाट मानव आवतजावत सहजीकरण गर्न सर्वपक्षीय छलफल

काठमाडौं : नेपाल र चीनबीच दशैं अघि नै तातोपानी नाकाबाट मानव आवतजावत गर्ने सहमति कार्यान्वयन गर्न तयारी तीव्र पारिएको छ।

तातोपानी नाका रहेको सिन्धुपाल्चोक क्षेत्र नं १ का संघीय सांसद् एवं माओवादी केन्द्रीय सदस्य माधव सापकोटा सुबोधको नेतृत्वमा तयारी स्वरूप शनिबार काठमाडौंमा सर्वपक्षीय छलफल भयो।

नेपाल चीन व्यापारिक तातोपानी नाकाबाट मानव आवतजावतको व्यवस्थापनको विषयमा महत्वपूर्ण छलफल भएको सांसाद सापकोटाले जानकारी दिए।

उनले भने ‘बैठकमा शुक्रबार प्रधानमन्त्री, गृहमन्त्री र परराष्ट्र मन्त्रीसँग भएको भेटको जानकारी, तातोपानी क्षेत्रलाई व्यवस्थित गर्ने, सो क्षेत्रको भग्नावशेस हटाउन संघीय सरकारलाई आग्रह गर्ने, लिपिङ क्षेत्रको बजार पुनर्स्थापित गर्ने विषयमा छलफल भयो।’

सहभागीका अनुसार बैठकमा चीनको सुरक्षा संवेदनशीलतालाई समेत ख्याल गर्दै मानव आवतजावतको तयारी गर्ने, गाउँ कार्यपालिकाले लिपिङको बजार पुनर्स्थापित गर्न सुझाव पेश गर्ने सहमति भएको छ।

छलफलमा बागमती प्रदेशसभा सदस्य अमृता नेपाल, माईली तामाङ, भोटेकोशी गाउँपालिकाका अध्यक्ष पासाङ नुर्पु शेर्पा, उपाध्यक्ष दिछेन शेर्पा, प्रमुख जिल्ला अधिकारी रमेश न्यौपाने, प्रहरी प्रमुख बाल नरसिंह राणा, सशस्त्र प्रहरी प्रमुख रवि केसी, भन्सार प्रमुख दयानन्द केसी, सिन्धुपाल्चोक उद्योग वाणिज्य संघ, हिमालय सिमापार वाणिज्य संघ, नेपाल ट्रक कन्टेनर ढुवानी सेवा प्रालि, तातोपानी पर्यटन व्यवसायी संघका प्रतिनिधिहरू सहभागी थिए।

भदौ ९, २०८० शनिबार २१:३०:०५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।