धरान दिनभर शान्त, हिन्दु अभियन्ताको इटहरीमा प्रदर्शन

धरान दिनभर शान्त, हिन्दु अभियन्ताको इटहरीमा प्रदर्शन

काठमाडौं : शनिबार विभिन्न हिन्दुवादी धार्मिक संगठन र अभियन्ताहरूले सुनसरीको धरानमा प्रदर्शनको कार्यक्रम तय गरे।

मन्दिरको अगाडि चर्च बनाएको र सार्वजनिक रूपमा गोरु काटेर खाएको विरोधमा हिन्दु अभियान्ताले धरानमा प्रदर्शनका कार्यक्रम राखे।

उता त्यसको विरोधस्वरूप पहिचान पक्षधरहरूले सो प्रदर्शनको प्रतिकार गर्ने चेतावनी दियो। पहिचान पक्षधरहरूको चेतावनीपछि स्थानीय प्रशासनले निषेधाज्ञा जारी गर्यो।

धरानलाई केन्द्रीत गर्दै शुक्रबार राति १२ बजेदेखि शनिबार राति १२ बजेसम्म निषेधाज्ञा गरेपछि धरानमा प्रदर्शन हुन पाएन। धरान दिनभर नै शान्त रह्यो।

दिनभर नै धरान प्रवेशको विन्दुमा बाक्लो संख्यामा प्रहरी परिचालन गरियो। प्रहरीले हिन्दुहरूको समूहलाई धरान प्रवेश गर्नै दिएन। धरान जाने सार्वजनिक सवारीमा समेत प्रहरीले कडाइ गर्यो।

यता धरान जान पनाएपछि हिन्दु अभियन्ताहरूले पनि इटहरीमा प्रदर्शन गरे। उनीहरूले ‘गाइ हाम्रो माता हो’, ‘शान्तिपूर्ण प्रदर्शनमा रोक लगाउने प्रशासन मुर्दाबाद’, ‘गाइ/गोरु काट्न पाइँदैन’ जस्ता नारा लगाए।

यसअघि शुक्रबार धरानमा सर्वदलीय र सर्वपक्षीय सद्भाव र्यालीको निकालिएको थियो। सामाजिक सद्भाव खलबलिन लागेको भन्दै त्यस्तो हुन नदिनका लागि र्याली निकालिएको सरोकारवालाले बताए।

भदौ ९, २०८० शनिबार १९:०७:११ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।