प्रिक्वेलको रेकर्ड तोड्न पनि सकेन ‘ड्रीम गर्ल २’ले
एजेन्सी : बलिउड स्टार आयुष्मान खुराना र अनन्या पाण्डे स्टारर प्रतिक्षित फिल्म ‘ड्रीम गर्ल २’ शुक्रबारबाट रिलिज भयो।
फिल्ममा पूजाको भूमिकामा देखिएका आयुष्मानले फेरि एकपटक सिल्भर स्क्रिनमा आफ्नो जल्वा देखाए। दर्शकमाझ राम्रो हाइप बनाएको फिल्मको पहिलो दिनको कमाइ भने सोचअनुरुप हुन सकेन।
पछिल्लो रिपोर्टलाई विश्वास गर्ने हो भने फिल्मले पहिलो दिन साढे ९ करोड रुपैयाँ कमाइ गरेको छ।
फिल्मले तीन ठूला राष्ट्रिय मल्टिप्लेक्स चेन पीभीआर, आइनक्स र सिनेपोलिसबाट पहिलो दिन जम्मा ५ करोड रूपैयाँ कलेक्सन गरेको छ।
फिल्मको कमाइमा यी तीन मल्टिप्लेक्सको योगदान ६० प्रतिशत रहेको छ। यस्तो अवस्थामा फिल्मले कूल १० करोडको आँकडा पार गर्न मुस्किलले देखाएको छ।
यसरी हेर्दा फिल्मले प्रिक्वेल ‘ड्रिम गर्ल’को रेकर्ड तोड्न सकेन। आयुष्मान र नुसरत भरुचा अभिनित ‘ड्रिम गर्ल’ले पहिलो दिन कुल १० करोड ५० लाख कमाएको थियो।
‘ड्रिम गर्ल २’ को प्रारम्भिक अनुमानको रिपोर्टले यो कीर्तिमान पार गर्न अलि गाह्रो हुने संकेत गरेको छ।
चलचित्रलाई दर्शकबाट आइरहेको प्रतिक्रियालाई हेर्दा यो चलचित्रले सप्ताहन्तमा गति लिने देखिएको छ। ३५ देखि ४० करोडको बजेटमा बनेको फिल्म सुपरहिट हुने अनुमान गरिएको छ।
भदौ ९, २०८० शनिबार १८:२७:५० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।