प्रतिनिधिसभाअन्तर्गतका समितिका सभापतिमा आइतबार उम्मेदवारी प्रस्ताव दर्ता, सोमबार निर्वाचन

प्रतिनिधिसभाअन्तर्गतका समितिका सभापतिमा आइतबार उम्मेदवारी प्रस्ताव दर्ता, सोमबार निर्वाचन

काठमाडौं : प्रतिनिधिसभाअन्तर्गत गठित १० वटा विषयगत समितिको सभापति निर्वाचनका लागि कार्यतालिका सार्वजनिक भएको छ।

आइतबार सभापतिको उम्मेदवारी प्रस्ताव दर्ता गर्ने र दर्ता भएका प्रस्तावको सूची प्रकाशित गर्ने कार्यतालिका तोकिएको छ। सभापतिका लागि दर्ता प्रस्तावहरू सोमबार सम्बन्धित समितिमा निर्णयार्थ प्रस्तुत गरिनेछन्।

प्रतिनिधिसभा नियमावलीमा भएको व्यवस्थाअनुसार संसदीय समितिमा सभामुखले तोकेको दिन सभापतिको निर्वाचन हुने र त्यसको सूचना सचिवले ४८ घण्टाअगावै प्रकाशन गर्नुपर्ने प्रावधान छ।

प्रतिनिधिसभाको सम्बन्धित समितिको कुनै सदस्यलाई सभापतिमा निर्वाचित गरियोस् भनी कुनै अर्को कुनै एक सदस्यको समर्थनसहित आइतबार बिहान ११ः०० देखि बेलुका ४ बजेसम्म प्रस्ताव दर्ता गर्ने समय तोकिएको छ।

यसरी निर्धारित समयभित्र दर्ता भएका प्रस्तावको सूची आइतबार बेलुका ४ः३० बजे प्रकाशन गरिनेछ। यस्तो सूची दर्ताक्रमअनुसार निर्धारण हुने संसद् सचिवालयले जनाएको छ।

दर्ता भएको प्रस्ताव सम्बन्धित समितिको बैठकमा प्रस्तावकले सोमबार प्रस्तुत गर्नेछन्। समर्थकले उक्त प्रस्तावको समर्थन गरेपछि निर्णयार्थ प्रस्तुत हुनेछ।

प्रधानमन्त्री र विषयगत मन्त्रालयका मन्त्रीहरू एकभन्दा बढी समितिमा पदेन सदस्य रहने भएकाले यस्ता सदस्यले आफू कुन समितिको मतदानमा सहभागी हुने भन्ने लिखित जानकारी आइतबारसम्ममा सभामुखलाई दिइसक्नुपर्नेछ।

तर प्रतिनिधिसभाको सदस्य नरहेका पदेन सदस्यले भने निर्वाचनमा मत दिन पाउनेछैन।

समिति सभापतिका लागि एकमात्र प्रस्ताव दर्ता भएमा समर्थक सदस्यले बोलिसकेपछि तत्काल सभापतित्व गर्ने सदस्यले प्रस्तावित सदस्य सभापति पदमा निर्विरोध निर्वाचित भएको घोषणा गर्नेछन्।

प्रस्तावको सूचना एकभन्दा बढी भएमा दर्ताक्रमअनुसार प्रत्येक समर्थक सदस्यले बोलिसकेपछि सबै प्रस्तावमाथि सामान्य छलफल हुनेछ र त्यसपछि तत्काल सभापतित्व गर्ने सदस्यले प्रस्तावलाई क्रमशः निर्णयार्थ प्रस्तुत गर्नेछन्।

भदौ ९, २०८० शनिबार १८:११:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।