सामाजिक सद्भाव बिथोल्ने अभिव्यक्तिप्रति सचेत रहन सभापति लामिछानेको आग्रह

सामाजिक सद्भाव बिथोल्ने अभिव्यक्तिप्रति सचेत रहन सभापति लामिछानेको आग्रह

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले सामाजिक सद्भाव विथोल्ने अभिव्यक्तिप्रति सचेत रहन आग्रह गरेका छन्।

पार्टीको टोखा नगरपालिकाको भेलामा शनिबार उनले जातजाति र समुदायसँग नभएर बेथिति र भ्रष्टचारविरुद्ध लड्नुपर्ने बताए।

‘जातीय र धार्मिक समुदायबीच द्वन्द्व बढाउने र समाजको सद्भाव खलबल्याउने अभिव्यक्तिप्रति सचेत बन्न सबैलाई आग्रह गर्दछु,’ उनले भने, ‘हाम्रो दुश्मनी गरिबी, अशिक्षा र बेरोजगारीसित हो।’

कानूनले बर्जित गरेको गतिविधि नगर्न सुझाव दिँदै अध्यक्ष लामिछानेले फरक-फरक समुदायको आस्थामा आँच आउने काम गर्न नहुनेमा जोड दिए।

रास्वपा संसदीय दलका उपनेता विराजभक्त श्रेष्ठले सात महिनाको संसदीय अभ्यास पार्टीका लागि उत्कृष्ट भएको बताए।

सांसद शिशिर खनालले आउने चुनौतीविरुद्ध सबै रास्वपाका सबै सदस्य एकजुट हुनुपर्ने बताए।

नगरसभाबाट रास्वपाको टोखा नगरसमिति गठन गरिएको छ।

समितिको सभापतिमा सूर्यप्रसाद काफ्ले, उपसभापतिमा केशु पन्त गौतम, सचिवमा किरण बर्तौला र कोषाध्यक्षमा नन्दलाल अधिकारी तथा सदस्यमा सुधा खड्का, रघुनाथ केसी, रिना नेपाली, गङ्गा गुरुङ, राज अधिकारी, ख्यामबहादुर भारती र कपिलनाथ पङ्गेनी चयन भएका छन्।

भदौ ९, २०८० शनिबार १७:२९:२१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।