ताम्राकार परिवारमा बज्रपात, छोरा सारुकले आत्महत्या गरेको डेढ महिनामा बाबु सानुको निधन

ताम्राकार परिवारमा बज्रपात, छोरा सारुकले आत्महत्या गरेको डेढ महिनामा बाबु सानुको निधन

काठमाडौँ : अभिनेता सारुक ताम्राकारले आत्महत्या गरेपछि पुत्र वियोगमा परेका अभिनेता सानु ताम्राकारको निधन भएको छ। नर्भिक अस्पतालमा उपचाररत उनको शनिवार दिउस निधन भएको हो।

असार २१ गते सारुक ताम्राकारले आफ्नै घरमा आत्महत्या गरेपछि उनी पुत्र शोकमा परेका थिए। छोराको सबै किरियाकर्म सक्काएपछि उनी एक्कासि बिरामी भए। ७४ वर्षका उनमा मिर्गौलाको समस्या देखिएको थियो।

उनी उपचारका लागि २८ दिन अगाडि नर्भिक अस्पतालमा भर्ना भएका थिए। उपचारकैक्रममा उनको शनिवार दिउस निधन भएको हो।

निकटस्रोतका अनुसार सारुकको आत्महत्यापछि उनी निकै गल्दै गएका थिए। बुद्ध धर्मावलम्बी रहेका उनी छोराको आत्महत्याको कारण जान्न चाहन्थे तर किटानी जाहेरी दिएर कसैलाई दुख दिन चाहँदैनथे।

सारुक आत्महत्याबारे प्रहरीमा सारुकको आमाले किटानी जाहेरी दिने प्रयास गरेकी थिइन्। तर प्रहरीले पहिलो निवेदनकै आधारमा अनुसन्धान भइरहेको भन्दै सम्झाएर फर्काएको थियो।

प्रहरीले सारुकको मोबाइलमा सुसाइड नोट फेला पारेको थियो। फिल्म ह्यासट्याग मायाको सुटिङस्थलमा अभिनेत्री नम्रता श्रेष्ठसँग विवाद भएपछि निराश रहेका सारुक सुटिङ सेटबाट घरमा फर्किएपछि आत्महत्या गरेका थिए।

सुटिङ युनिटले केही दिन अगाडि मात्रै फिल्मका लागि छायाङ्कन गरेका फुटेजहरू मिलाएर सारुकको अन्तिम अभिनयको म्युजिक भिडियो सार्वजनिक गरेको थियो।

प्रहरीले सारुक आत्महत्या घटनाको अनुसन्धान गरिरहेको छ। 

भदौ ९, २०८० शनिबार १७:१३:५३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।