डा. अन्जनीकुमारको अनुभव : डा. भक्तमान अपहरण पर्दा साथीले ‘जीवितै हुनुहुन्छ’ भन्दिएछन्, हंगामा मच्चिहाल्यो नि!

डा. अन्जनीकुमारको अनुभव : डा. भक्तमान अपहरण पर्दा साथीले ‘जीवितै हुनुहुन्छ’ भन्दिएछन्, हंगामा मच्चिहाल्यो नि!

प्रा.डा. अन्जनीकुमार झा क्यान्सर रोग विशेषज्ञ हुन्। उनी क्यान्सर रोग विशेषज्ञका रूपमा मात्रै सीमित छैनन्। नेपाल चिकित्सकको नेतृत्व गरेर विशेषगरी चिकित्सकहरूको हकहित लगायतका मुद्दामा समेत सक्रिय छन्। तर अहिले भने पहिलाजस्तो सक्रियता छैन, अलि कम भएको छ। तीन दशकदेखि बिरामीको उपचारमा संलग्न डा. अन्जनीकुमारले चिकित्सकीय पेशाको सिलसिलामा देखेभोगेको आरोह–अवरोह उकेरासँग साटेका छन्।

सहकर्मी अपहरण परेको बेला बोली चिप्लिँदा...
आफू नेपाल चिकित्सक संघको महासचिव हुँदा चिकित्सक अपहरण भएको एउटा घटना कहिल्यै भुल्दैनन् डा. अन्जनीकुमार। २०६७ मा भरतपुरस्थित वीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालका तत्कालीन कार्यकारी निर्देशक डा. भक्तमान श्रेष्ठ अपहरणमा परे।

डा. अन्जनीकुमार पनि त्यही अस्पतालका चिकित्सक थिए। त्यो बेला चिकित्सक संघ, मानवअधिकारवादी लगायतको टोली डा. श्रेष्ठको खोजीका लागि चितवनमा पुगेको थियो।

डा. अन्जनीकुमारसँगै चितवन पुगेको टोलीका एक जनाले भने भीडमा बोल्ने क्रममा ‘भक्तमान डाक्टरसाप जीवित नै हुनुहुन्छ’ भनेर भाषण गरिदिएछन्।

ती व्यक्तिले विशेषगरी डा. श्रेष्ठका परिवार र आफन्तलाई सान्त्वना मिलोस् भनेर ‘जीवितै हुनुहन्छ’ भनेका थिए। तर, जीवित नै हुनुहुन्छ भनेर भाषण गरिसकेपछि स्थानीय लगायतले ‘यसलाई त थाहा रहेछ’ भनेर हंगामा नै मच्चाएछन्।

डा. अन्जनीकुमार क्यान्सर अस्पतालकै कर्मचारी भएकाले भीडले आफूलाई समेत शंकाको दृष्टिले हेरेको अनुभव सुनाए।

‘म त त्यहिँको कर्मचारी भएकाले यसलाई त थाहा रहेछ, किन भन्दैन, यसैले घटना गराएको होकी भनेर भीडले त्यतातिर कुरो मोडदिए,’ डा. अन्जनीले त्यो बेलाको घटना सुनाए।

डा. श्रेष्ठलाई खोज्न गएका साथीको बोली चिप्लिँदा भएको त्यो घटनाबाट ‘कहिलेकाहिँ सकारात्मक सन्देश दिँदा पनि विचार पुर्याएर बोल्नुपर्ने रहेछ’ भन्ने डा. अन्जनीकुमारलाई महसुस भयो। भीडलाई सम्झाएपछि भने साम्य भएको उनले सुनाए।

आफू नेपाल चिकित्सक संघको महासचिवको जिम्मेवारीमा रहेको अनि भरतपुर क्यान्सर अस्पतालकै चिकित्सक भएकाले त्यो बेला मानसिक रूपमा निक्कै तनावपूर्ण भएको उनको अनुभव छ।

त्यो बेला डा. भक्तमान श्रेष्ठलाई खोज्नका लागि गाउँ–गाउँ पुगेको डा. अन्जनीकुमारले बताए। १९ दिनमा डा. श्रेष्ठ अपहरणमुक्त भए र सुरक्षित रूपमा घर फर्किएका थिए।

बेडबाट बिरामी लडेपछि...
२० वर्षअघि भरतपुरस्थित वीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा काम गर्दा त्यहिँका कर्मचारीका ३५ वर्षीया भाउजुको क्यान्सरका कारण तिघ्राभन्दा तलको भाग काटिएको रहेछ, त्यो पनि काठमाडौंको एक अस्पतालमा। क्यासर बल्झेर पीडा थपिएपछि ती कर्मचारीले डा. अन्जनीकुमारसँग सल्लाह गरे।

डा. अन्जनीकुमारले पनि भरतपुर अस्पताल ल्याउन सल्लाह दिए। सल्लाहअनुसार अस्पताल ल्याइयो। बिरामी महिलाको स्वास्थ्य परीक्षण गर्दा क्यासर निको हुने अवस्थामा थिएन। तर, बिरामीलाई पीडा कम गर्ने उपाय अपनाउनु थियो नै।

ती बिरामी महिलालाई रेडियोथेरापी विधिबाट उपचार गर्नुपर्ने थियो। तिनका देवर अस्पतालका प्राविधिक तर्फका कर्मचारी थिए। डा. अन्जनीको सल्लाहअनुसार ती कर्मचारीले नै भाउजुलाई रेडियोथेरापी दिन थाले। रेडियोथेरापी दिँदा बिरामीलाई एक्लै राखेर मेसिनको सहायताले रेडियशन दिइन्छ।

रेडियोथेरापी गराइरहेको अवस्थामा ती बिरामी महिला बेडबाट पल्टिएर भुइँमा लडिछन्। बिरामी महिला सामान्य घाइते भइन्। भाउजु लडेपछि रेडियो थेरापी दिइरहेका देवर आत्तिने नै भए। बिरामीलाई उनले उठाए।

महिला लडेर घाइते भएपछि बिरामीका आफन्तले डा. अन्जनीकुमारलाई घेरेनन् मात्र नथानाम गाली नै गरेछन्। निक्कै सम्झाइबुझाई गरेपछि मात्रै आफन्त मत्थर भएको उनले सुनाए। त्यो घटना सम्झँदा डा. अन्जनीकुमारको मन अझै चसक्क दुख्छ।

अनि सोच्छन, ‘ओ हो! बिरामीलाई राम्रो उपचार गर्ने प्रयास गर्दागर्दै पनि कस्तो अपजस पाइयो। उहाँ (बिरामी)कै देवर पर्नेले उपचार गर्नुभयो, मेरो के दोष?’

बिरामी महिलाका ती देवरलाई समेत आफन्तले ‘तँ चुप लाग’ भनेर बोल्न नदिएको उनी सम्झन्छन्। अस्पतालकै कर्मचारीको आफन्त भए पनि घटना घटेको अवस्थामा नकारात्मक किसिमको वातावरण बन्ने रहेछ भन्ने अनुभव उनले त्यो घटनाबाट गर्न पाए।

‘चार अर्ब भारत पुग्ने आँकडा देखाएपछि बल्ल माने’
चितवनमा क्यान्सर अस्पताल खोाल्ने समयमा किन क्यान्सर अस्पताल चाहियो? क्यान्सर लागेको मान्छेको त मृत्यु भइहाल्छ भन्ने कुरा विद्धान कहलिएकाहरूबाट आएको डा. अन्जनीकुमार सम्झन्छन्। त्यो सुन्दा उनलाइ नमीठो लाग्थ्यो।

त्यसो त स्वास्थ्य मन्त्रालयमा समेत डा. अन्जनीकुमारले क्यान्सर अस्पताललाई कति पैसा दिने? त्यो अस्पताललाई दिएको बजेटको उपलब्धि के? भन्ने निक्कै बहस भएको देखेका अनि सुनेका छन्।

२०५६ सालतिर एक दिन भने उनले स्वास्थ्य मन्त्रालयमा क्यान्सरसम्बन्धी प्रस्तुतिकरण गर्ने मौका पाए। त्यो बेला उनले मन्त्रालयमा भरतपुरको वीपी कोइराला क्यान्सर अस्पतालमा वार्षिक कति बिरामी उपचारका लागि पुग्छन् अनि एक जना बिरामीको कति खर्च हुन्छ भन्ने लगायतको तथ्यांक प्रस्तुत गरे।

नेपालबाट धेरैजसो बिरामी उपचारका लागि पुग्ने भारतका केही अस्पतालमा हुने खर्चको पनि उनले हिसाब निकाले। अनि भरतपुर क्यान्सर अस्पतालमा बिरामीको क्यान्सरको उपचारका लागि हुने खर्च र भारतमा हुने खर्चको तुलनात्मक अध्ययनको प्रस्तुति गरे।

त्यो बेला चितवनको भरतपुरस्थित वीपी कोइराला क्यान्सर अस्पतालमा वार्षिक करिब एक हजार पाँच सय जना क्यान्सरका नयाँ बिरामी उपचारका लागि पुग्थे।

भरतपुरमा क्यान्सर अस्पताल नभएको खण्डमा एक हजार पाँच सय जना बिरामीमध्ये एक हजार क्यान्सरका बिरामी मात्रै भारतमा उपचारका लागि पुगेको खण्डमा चार अर्ब रकम भारत पुग्ने डा. अन्जनीले आँकडा निकालेका थिए। त्यो आँकडा उनले स्वास्थ्य मन्त्रालयमा प्रस्तुत गरे।

त्यो बेला मन्त्रालयले क्यान्सर अस्पतालका लागि वार्षिक करिब ४० करोड रकम दिन्थ्यो। त्यो बजेटसमेत काट्नेबारे बहस भइरहेको थियो। त्यसैले डा. अन्जनीले यस्तो आँकडा प्रस्तुत गर्दै मन्त्रालयका अधिकारीलाई भने, ‘तपाईंहरूलाई क्यान्सर अस्पताल सञ्चालन गर्न ४० करोड दिन अप्ठेरो लागिरहेको छ। तर, भरतपुरमा क्यान्सरको उपचार नभए चार अर्ब रकम बाहिर जान्छ, त्यो पनि हेक्का राख्नुस्।’

यस्तो आँकडा प्रस्तुत गर्दै बजेटलाई निरन्तरता दिन मन्त्रालयमा अनुरोध गरेको उनी अहिले पनि सम्झन्छन्। त्यसपछि भने बजेट निरन्तर भएको र खासै बजेट नकाटिएको डा. अन्जनीकुमार सम्झन्छन्। त्यो बेला स्वास्थ्य मन्त्रालयको सचिवको जिम्मेवारीमा डा. प्रवीण मिश्र थिए। अस्पतालमा सरकारले गर्ने लगानीमा किराना पसलको जस्तो फाइदा र घाटाको हिसाबकिताब गर्न नहुने उनको सुझाव छ।

जन्म महोत्तरी, अध्ययन डाक्टरी
वि.सं. २०२१ मा महोत्तरीको साँढामा जन्मिएका अन्जनीकुमारले आठ कक्षासम्म जनकपुरमा पढे। बुवा संस्कृतका पण्डित भएकाले पनि घरमा पढ्ने वातावरण थियो।

त्यो बेला उनका दाइ भारतमा एमबीबीएस अध्ययन गर्थे। त्यसैले अन्जनीकुमार पनि दाजुसँग भारत पुगेर कक्षा नौमा पढ्न थाले। उनले सन् १९८० मा भारतको दरभंगास्थित सरस्वती हाइस्कुलबाट म्याट्रिक पास गरे।

११ कक्षासम्म एसएलसी सरहकै मान्यता हुने भएकाले ११ कक्षासम्म उनले त्यहीँ पढे। त्यसपछि नेपाल फर्केर उनले धनुषाको जनकपुरस्थित रामस्वरुप रामसागर बहुमुखी क्याम्पसबाट सन् १९८४ मा आइएस्सी गरे।

डाक्टर बन्ने सपना बोकेका अन्जनीकुमार त्रिभुवन विश्वविद्यालय अन्तर्गत महाराजगञ्ज चिकित्सा क्याम्पसमा हेल्क असिस्टेण्ट (एचए) अध्ययनका लागि भर्ना भए। तर, मन लागेन।

अनि पढ्न थालेको एक वर्षमै छाडेर एमबीबीएस अध्ययनका लागि बंगलादेश हानिए। त्यहाँको चिटगाउँ विश्वविद्यालयको स्मागो मेडिकल कलेजबाट उनले सन् १९९३ मा एमबीबीएसको अध्ययन पूरा गरेर स्वदेश फर्किए।

टिचिङमा चार हजारको जागिर, चितवनमा २५ वर्ष
बंगलादेशबाट एमबीबीएस अध्ययन गरेर फर्किएपछि अन्जनीकुमार त्रिवि शिक्षण अस्पताल (टिचिङ)मा मेडिकल अधिकृतका रूपमा करार जागिरे भएर काम गर्न थाले।

त्यहाँ काम गरेको एक वर्षपछि तीन हजार रुपैयाँ बढी तलब पाउने गरी पाटन अस्पतालबाट अफर आयो। डा. अन्जनीकुमार पाटन अस्पतालमा मानिस सात हजार रुपैयाँमा जागिर खान थाले। त्यहाँ उनले सन् १९९५ सम्म काम गरे।

पाटनपछि डा. अन्जनीकुमार चितवनको भरतपुरस्थित वीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा सन् १९९६ मा मेडिकल अधिकृतका रुपमा काम गर्न पुगे।

त्यहाँ पुग्नासाथ उनले अष्टे«लियाको मेलवर्नस्थित पिटर म्याक कलम क्यान्सर इन्स्टिच्युटमा पुगेर क्यान्सरसम्बन्धी प्यालिएटिभ मेडिसिन विषयमा सन् १९९६ मा करिब एक वर्ष फेलोसिप गरेर नेपाल फर्के।

वीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा उनको जागिर निरन्तर चलिनै रह्यो। अस्पतालमा काम थालेको करिब तीन वर्षमा उनी स्थायी जागिरे भए।

त्यहाँ काम गर्दागदै डा. अन्जनीकुमार सन् १९९८ मा भारतको कर्नटाकास्थित कस्तुर्ब मेडिकल कलेज पुगेर रेडिएशन अंकोलोजी विषयमा स्नातकोत्तर तहको एमडी अध्ययन गरे। सन् २००१ मा उनी तीन वर्षे एमडी अध्ययन सकेर नेपाल फर्फिए।

उनी भरतपुरको क्यान्सर अस्पतालमा मेडिकल अधिकृतबाट बढुवा हुँदै रजिष्ट्रार, वरिष्ठ रजिष्ट्रार, जुनियर कन्सल्टेण्ट, कन्सल्टेण्ट, वरिष्ठ कन्सल्टेण्ट चिकित्सक भए। उनले त्यही बीचमा चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानबाट प्राध्यापकको उपाधि पाए।

सन् २०२० सम्म करिब २५ वर्ष चितवनको भरतपुरस्थित वीपी कोइराला क्यान्सर अस्पतालमा काम गरेपछि डा. अन्जनीकुमारले त्यहाँको जागिर छाडे। हाल उनी भक्तपुरको ताथलीस्थित नालारोडमा रहेको ‘काठमाडौं क्यान्सर सेन्टर’मा अध्यक्षको भूमिकामा छन्।

डा. अन्जनीकुमार त्यहाँ क्यान्सर रोग विशेषज्ञका रूपमा कार्यरत छन्। बिरामीको औषधि उपचार तथा परामर्शमा खटिनु उनको अहिलेको दैनिकी हो।

चिकित्सक संघमा अध्यक्षको त्यो जिम्मेवारी
डा. अन्जनीकुमारले नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को कार्यकारी अध्यक्षको रूपमा समेत काम गरे।

नेपाल चिकित्सक संघको निर्वाचित महासचिव र सन् २०१३ देखि २०१६ सम्म उनले अध्यक्षको भूमिकामा समेत काम गरिसकेका उनी सार्क फेडेरेशन अफ अंकोलोजीको सदस्यसमेत हुन्।

डा. अन्जनीकुमारले बेलायतको प्रिन्सेस रोयल विश्वविद्यालय अन्तर्गतको फार्नबोरउ अस्पतालबाट सन् १९९४ मा क्लिनिकल मानार्थ उपाधि पाएका छन्। त्यसैगरी भारतको मुम्बाईस्थित टाटा मेमोरियल अस्पतालबाट सन् २००४ मा क्यान्सर सम्बन्धी ब्राकी थेरापीको सिप सिकेका छन्।

डा. अन्जनीकुमारले क्यान्सर लगायत चिकित्सा सम्बन्धी विभिन्न तालिम तथा सिप लगायतको ज्ञान लिएका छन्। उनका विभिन्न जर्नल तथा सञ्चार माध्यममा दर्जनौं अनुसन्धानात्मक लेख, रचना प्रकाशित भएका छन्।

डा. केसीका ति अनसन
त्यसो त आफू नेपाल चिकित्सक संघको अध्यक्ष भएको समयका केही प्रसङ्ग पनि डा. अन्जनीकुमार कहिल्यै भुल्दैनन्। आफू अध्यक्ष भएको समयमा विशेषगरी डा. गोविन्द केसीको अनसनको समय निकै तनावपूर्ण भएको उनले सुनाए।

आफू चिकित्सक संघको अध्यक्ष भएको समयमा डा. केसीले ८/१० पटक नै अनसन बसेको डा. अन्जनीकुमारले सुनाए। त्यो बेला रातदिन बिहानदेखि मध्यरातसम्म भोकै र तिर्खै समन्वयका लागि आफ्नो टिमले सक्रिय भूमिका खेलेको उनी सम्झन्छन्।

उनी अनसन बसेको समयमा राज्यसँगको समन्वय र दबाब अनि डा. केसीबीच वार्ताको समन्वय तथा उनको जीवन रक्षाका लागि सक्रिय भूमिका खेल्दाका प्रसङ्ग उनी सम्झन्छन्।

कहिलेकाहीँ त अध्यक्षको जिम्मेवारी लिएर कति तनाव लिने भन्ने पनि लाग्थ्यो उनलाई। तर, डा. केसीले व्यक्तिगत स्वार्थ नबोकी सुधारको लागि अनसन बसेको डा. अन्जनीकुमारको बुझाइ छ।

त्यो बेला सरकारसँग सम्झौता गर्नका लागि डा. केसीलाई मनाउन निक्कै कठिन भएको उनको अनुभव छ।

‘उहाँ (डा. केसी) सन्त मान्छे नै हो। निस्वार्थ मान्छेलाई सम्झौता गराउन त कठिन हुन्छ नी’, उनले भने।

त्यो बेला डा. केसीले उठाएका माग ठिक लागेर नै संघले पनि उनको मागको पक्षमा उभिएको डा. अन्जनीले सुनाए। तर, समय क्रमसँगै नियमहरू संशोधन हुँदै जानुपर्ने उनको सुझाव छ।

‘त्यही काम कुनै समयको लागि उपयुक्त हुन्छ, केही वर्षपछि त्यसमा परिवर्तन गर्नुपर्छ’, उनले भने।

भदौ ९, २०८० शनिबार १५:२३:१७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।