अझै खुलेन शुक्रबार बिहानदेखि अवरुद्ध मदन भण्डारी लोकमार्ग, पूर्व जाने आउने गाडी अलपत्र

अझै खुलेन शुक्रबार बिहानदेखि अवरुद्ध मदन भण्डारी लोकमार्ग, पूर्व जाने आउने गाडी अलपत्र
फाइल फोटो

उदयपुर : निरन्तर वर्षाका कारण उदयपुगढी गाउँपालिका–६ मौवासी खोला नजिकै सडकमा खसेको पहिरोका कारण शुक्रबार बिहानदेखि अवरुद्ध भएको मदन भण्डारी लोकमार्ग अझै खुलेको छैन।

जिल्ला प्रहरी कार्यलयका अनुसार बिहीबार रातिदेखि आएको निरन्तर वर्षाका कारण शुक्रबार बिहान उदयपुर गढीको मौवासी खोलाको पुल नजिकै मदन भण्डारी लोकमार्ग खण्डमा खोलापारीको माथिल्लो पाखाबाट खसेको पहिरोले सडक अवरुद्ध भएको हो। 

शुक्रबार बिहानैदेखि अवरुद्ध सडक खुलाउन प्रयास भइरहेको भए पनि वर्षाका कारण र ठूलो परिमाणमा सडकमा माथिल्लो खण्डबाट पहिरोसँगै ठूला ढुङ्गासहित लेदो खसेका कारण सडक खुलाउन कठिन भइरहेको सो सडक डिभिजनका प्रमुख गोपालप्रसाद खकुरेलले बताए। 

अझै निरन्तर वर्षा जारी रहेको र पहिरोमा झण्डै पचास मिटर क्षेत्रफलभन्दा बढी सडक खण्डमा माटो र ठूला ढुङ्गा खसेका कारण हटाउन कठिन भइरहेको छ।

मदन भण्डारी लोकमार्गमा सडक अवरुद्ध भएपछि राजधानी काठमाडौंबाट पूर्व आउँदै गरेका सवारी साधन जिल्लाको कटारी क्षेत्रमा रोकिएका छन्।

पूर्वबाट राजधानी काठमाडौं हिँडेका सवारी साधन उदयपुरको गाईघाटमा रोकिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख ज्ञानेन्द्र फुयाँलले बताए।

भदौ ९, २०८० शनिबार १३:५६:३९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।