‘बाइक मिस्त्री’ अभिनेता : मुकुन वर्कसपको सटर एक्कासी बन्द गरेर अभिनयमा छिरे, अनि चोपेन्द्र भएर उदाए
पछिल्लो समय नेपाली सिनेमा उद्योगमा व्यस्त अभिनेता हुन् मुकुन भुसाल। पाँच वर्षअघि रिलिज भएको फिल्म ‘बुलबुल’बाट अलग छवि बनाएका भुसाल पहिलो फिल्मबाटै चर्चामा आए।
उनलाई दर्शकले यही फिल्मको चोपेन्द्र पात्रका रूपमा चिन्ने गरेका छन्। यस फिल्मपछि उनले ‘झिंगे दाउ’मा अभिनय गरे।
उनी अभिनित फिल्म ‘गणपति’ र ‘ऐँचो पैँचो’ यही भदौ १४ गतेबाट नेपालभर रिलिज हुँदैछ। दुई फिल्म रिलिजको सँघारमा उनी रेखा थापाले निर्माण गरिरहेको फिल्म ‘उपहार’मा व्यस्त छन्। उनै मुकुनसँग उकेराकर्मीले गरेको संक्षिप्त कुराकानी :
तपाइँलाई स्वागत छ।
धन्यवाद
कतिको व्यस्तता बढेको छ हिजोआज ?
व्यस्त त अब कला क्षेत्रमा कलम चलाउनेहरूलाई प्रष्टै छ। दर्शकहरूलाई भन्नुपर्दा जनै पूर्णिमाको दिनबाट मैले पनि काम गरेका दुई फिल्म ‘गणपति’ र ‘ऐँचो पैँचो’ एकसाथ रिलिज हुँदैछ। अहिले त यसैको प्रमोसनमा व्यस्त छु।
एकैपटक दुई वटा फिल्म रिलिज हुँदा प्रमोसन कसरी व्यवस्थापन गरिरहनु भएको छ?
अब यो यस्तै भयो। मेरा हकमा चैँ पहिलो र अचम्मको अनुभव भइराख्या छ। पहिलो सिनेमा बुलबुल रिलिज हुँदा सामान्य थियो। ‘झिंगे दाउ’मा पनि सामान्य नै थियो। यस्तो एकैपटक दुईवटा फिल्म रिलिज भएको मेरो अनुभव थिएन। अहिले भाग दौड भइरहेको छ। यसलाई तनावको रूपमा लिन्न। फिल्म निर्माताहरूले व्यवसायको सुरक्षा हेरेर निर्णय गर्नुभएको होला। आफ्नो तर्फबाट समय मिलाएर दुवैको प्रमोशनमा हिँडिराख्या छु।
तपाईं दुवैतिर मुख्य कलाकार हुनुहुन्छ। एउटा फिल्म चल्यो अनि अर्को चलेन भने ब्याक हुन्छु भन्ने त्यस्तो केही लाग्या छैन?
हेर्नुस अब म फिल्म हेर्दाखेरि गाउँ समाजमा कुटाइ खाने मान्छे। त्यो समाजमा हुर्किएको मान्छे। यहाँसम्म आइपुगेँ। तेस्रो पटक एकै दिन आफूले अभिनय गरेको दुई वटा फिल्म एकै पटक रिलिज हुँदैछ। दुवै फिल्ममा मैले गर्न सक्नेसम्मको अभिनय गरेको छु।
अब व्यावसायिक पाटो भनेको अलग हो। मलाई के लाग्छ भने दुवै फिल्म फरक-फरक जनराको हो। दुवै फिल्मको आफ्नो खालको दर्शक छन्। त्यसैले मैले खासै उ(तनाव) लिएको छैन।
भनेपछि तपाईं दुवै फिल्म चल्छ भन्नेमा ढुक्क हुनुहुन्छ।
अँ म त ढुक्क छु।
दुवै फिल्म फरक जनराको छ। एउटाले हसाउँने अनि अर्कोले रुवाउने होला। कि के छ दुवै फिल्ममा?
मान्छे(दर्शक) को इमोसनमा पनि खेल्ने भएकाले दुवै फिल्ममा हसाउने-रुवाउने त हुन्छ नै। तर अन्य तरिकाले पनि दर्शकहरूले मनोरञ्जन गर्न सक्नुहुन्छ। जस्तो कहिले-कहिले फिल्म हेर्दा आफूजस्तै देखियो भने उसले बोलेको अनि हिँडेकोमा पनि मजा आउँछ। त्यसैले फरक जनाराका फिल्म भए पनि दुवै दर्शकसँग कनेक्ट हुनसक्ने फिल्मै छ।
तपाईंको यो यात्रा चैँ कसरी शुरू भयो? सानैदेखिको रहर हो कि? बाल्यकालतिर पनि जाउँ न!
अब हेर्नुस् अरूको हुर्काइ कस्तो भयो त्यो त मलाई थाहा भएन। मेरो हुर्काइ चाहिँ कस्तो भयो भने सिनेमा हेर्दा कलाकार बन्न मन लाग्ने। घर अगाडिबाट गाडी दौडिँदा ड्राइभर बन्न मन लाग्थ्यो। आर्मीले परेड खेल्दै बाटोमा हिँड्दा फौजी बन्नुपर्छ जस्तो लाग्थ्यो। हरेक समयमा जे देखियो त्यही बन्न मन लाग्थ्यो।
जे देख्यो त्यही बन्न मन लाग्ने, फिल्म खेल्न चैँ कहिले मन लाग्यो त?
स्कुल सकिएर क्याम्पस जाने भएपछि अलि दायरा फराकिलो हुँदै गयो। उमेर बढ्दै गएपछि सिनेमाहरू हेर्न थालियो। हाम्रो समयमा त्यस्तो सिनेमाहरू पनि हुँदैन थिए। डेकमा हिन्दी फिल्मको सीडी भीसीडी लगाएर हेर्नुपर्थ्यो। फिल्म हेर्दै जाँदा फिल्मप्रति रस पस्दै गयो। यही सिलसिलामा मैले सन् २००८ तिर सानो कोर्स पनि गरेको थिएँ। अभिनय वर्कसप थियो चण्डीगढमा। त्यहाँ मैले केही सिक्ने मौका पाए। चटक्कै छाडेर यता लागे। परिवारमा डिग्रीलाई ठूलो मानिन्छ। त्यो सर्ट टर्म कोर्षले मलाई रस पसिसकेको थियो।
सिधै फिल्म क्षेत्रमा आइयो कि बिचमा केही गरियो?
म बाइक मिस्त्री पनि हो। फिल्ममा आउनुभन्दा अघि म बाइक वर्कसपमा काम गर्थेँ। पढाइलाई निरन्तरता दिँदै पढाइलाई पनि सँगसँगै लगेको थिएँ। सन्धिखर्कमा मोटरसाइकलको ग्यारेज खोलेको थिएँ। यसै क्रममा एजुकेसन क्लालिफिकेशन पनि बढाउनुपर्यो भनेर मास्टर डिग्रीका लागि जोइन गर्ने विचार गरेँ। अनि सटर बन्द गरेर हिँडे।
ग्यारेजमा के-के गरियो ?
सबै गरियो। मोटरसाइकल धुने, इन्जिन बनाउने सबै काम गरियो। मेकानिक भन्नु न!
ए वर्कसपमा काम गर्दागर्दै फिल्म खेल्न आउनुभयो?
फिल्म खेल्न हैन पढ्न। बुबाआमालाई जे पढे पनि छोरोले पढोस् भन्ने चाहना हुन्छ। पहिला अभिनयको छोटो क्लास लिएको रस ममा अझै थियो। त्यही विषय पढ्छु भनेर काठमाडौं आएँ अनि ओस्कार कलेजमा भर्ना भए। त्यहाँ विश्वभरका फिल्म हेर्न पाइयो। फिल्मी माहोल बुझ्दै गएँ।
ब्याचलर डिग्री सक्काइयो। तर भने जस्तो, खोजे जस्तो फिल्मको अफर आएन। अब एकेडेमिक क्वालिफिकेसन तिर नै ध्यान दिउँ भनेर इण्डिया गएर मास्टर्स गरेँ।
उता सन्धिखर्कको वर्कसप चैँ?
म हिँड्दा त्यतिकै सटर नै झारेर हिँडेको हो। पछि बुवाले बेचिदिनुभएछ।
पहिलो फिल्म ‘बुलबुल’को टिमसँग कसरी भेट भयो?
इण्डियामा मास्टर्स कोर्स सकेर फर्किएको अर्को दिन नै विनोद पौडेल सरले फिल्म गर्दैछु आउ भनेर बोलाउनुभयो। त्यसपछि फिल्म बुलबुलमा आवद्ध भएँ।
बुलबुलमा तपाईंको ‘चोपेन्द्र’ क्यारेक्टर हिट भयो। तपाईंले ४-५ वटा फिल्ममा काम गरिसक्दा पनि धेरैले त्यही चोपेन्द्रकै नामले चिन्छन्। यो क्यारेक्टरलाई प्रदर्शनको तयारीमा रहेको फिल्मले छोप्न सक्छ?
मलाई आश छ, निरास किन हुनु। कुनै फिल्म सफल हुन्छ कुनै पात्र। भाग्यवश बुलबुल फिल्म पनि हिट भयो क्यारेक्टर पनि हिट भयो। त्यसपछि झिँगेदाउमा अभिनय गरेँ। त्यसले चोपेन्द्रको इमेज छोप्न सकेन। गणपतिमा मुख्य क्यारेक्टर नै गरेको हुनाले यसले चोपेन्द्रलाई बिर्साउँछ कि भन्ने आश छ।
त्यसले चोपेन्द्रको ठाउँमा कुन क्यारेक्टर स्थापित गर्ला त?
त्यसको क्यारेक्टर नै गणपति हो।
गणपतिमा अभिनय गर्दाका तीतामीठा अनुभव?
मीठा अनुभव धेरै छन्। शुरूमा त्यो फिल्मको अफर आउँदा नै अरे यार हो त! मीठो विषय पो छ त भन्ने लागेको थियो। सामान्यतया के हुन्छ भने हामीले सुनिराखेकै विषय हुन्छन्। तर पर्दामा आएको हुँदैन। ट्रेलर हेर्दा नि देखिने कुरा। एउटा बच्चा जन्मँदा उसलाई भगवानै मान्छन्। जब उ हुर्कँदै जान्छ अनि अपहेलित हुँदै जान्छ।
त्यसमा अहिलेका युवाहरूको भोगाइ पनि। निकै मीठो क्यारेक्टर छ। माया लाग्दो क्यारेक्टर छ। त्यसैले यसले मलाई नयाँ पहिचान दिन्छ कि भन्ने लाग्छ।
फिल्मको ट्रेलरमा बुवाले लखेटिरहेको देखिन्छ। उपद्रो क्यारेक्टर छ, जीवनमा कहिल्यै त्यस्तो भोगियो ?
किन नहुनु! धेरै लामो लखेटाइ भोगेको छु। सानोमा म गुलेली हान्न माहिर थिएँ। त्यो समयमा कुन पार्टीको हो ‘नेपाल बन्द’ थियो। गाडीहरू गुडेका थिएनन्। आन्दोलन गर्नेहरू हिँडिरहेका थिए। पुलिसको भ्यान मेरै अगाडिबाट गयो। केही मान्छेहरूले हान्दे भनेर मलाई उचालिदिए। उनीहरूको उक्साहटमा हान्दिहालेँ।
मैले गुलेलीले पुलिसको भ्यानलाई हानेको कुरा छिमेकी साथीले कुदेर मेरा घरमा बुवालाई लाइदिएछ। अब बुवा आगो भएर मलाई लखेटेको लखेटै। ७/८ किलोमिटर नै टाढा पुर्याउनुभएको थियो। बाबु-छोरा भेट हुँदा त्योबारे अहिले पनि कुरा गर्छन्। अरू लखेटाइ पनि कति छ कति।
हाम्रोमा एक दाई थिए। उनकोमा डेक थियो। त्यहाँ गएर फिल्म हेर्दा बुवाले कति लखेट्नु भयो कति।
अब बुवाले छोराले फिल्म खेलोस् भन्ने त पक्कै सोच्नुभएको थिएन होला। अहिले कस्तो छ प्रतिक्रिया?
मेरो मात्रै हैन अधिकांशका बुवाले कुनै सन्तानले फिल्म खेलोस् भनेर सोच्दैनथे नि! फिल्म हेर्नु त बिग्रनु भन्ने सोचाइ भएको समाज हो हाम्रो। अहिले पो विस्तारै चेत बढेर कलाकार बन्नु भनेको राम्रै हो भन्ने भएको।
अब अहिले त कलाकार मुकुनको बाबु भनेर गाउँ-ठाउँमा चिनिँदा मक्खै हुनुहोला नि बुवा हैन?
त्यस्तो छैन। अहिले पनि म गाउँतिर फलानाको छोरा भनेरै चिनिन्छु। फिल्म हेर्ने जमातमा मुकुन भए पनि क्षेत्रभित्र भने फलानाको छोरा भनेरै चिनिन्छु।
धेरैले काम गर्नुअघि फिल्मको कलाकार, टिम, कथा आदि हेर्छु भन्छन्, तपाईं केलाई प्राथमिकतामा राख्नुहुन्छ?
म त सबैभन्दा पहिला टिम नै हेर्छु। स्क्रिप्ट मात्र हेरेर गयो तर टिम बलियो भएन भने त्यो कागजमा मात्र सीमित हुन्छ। किनभने टिम बलियो भयो भने कथा पनि राम्रो बनाउन सकिन्छ। त्यसकारण मेरो पहिलो प्राथमिकतामा टिम नै राम्रो हुनुपर्छ जस्तो लाग्छ।
गणपतिमा कसरी जोडिनु भयो?
लकडाउन सकिएको थियो। निर्माता सविन अधिकारीले भेटौँ न भन्नुभयो। भेट्दा वानलाइन स्टोरी नै मनपर्यो। स्टोरीमा दम देखेपछि काम गर्न राजी भएँ।
धेरै समय लाग्यो नि ‘गणपति’ रिलिज हुन।
निर्माण टिमको आफ्नै समस्या भयो होला। दुई वर्षको पर्खाईपछि फिल्म आउँदैछ। अहिले आएर रिलिज पक्का भएको छ। खुसी छु।
गणपतिको संवादहरू निकै राम्रा संवाद छन् कि क्या हो! केही भन्न मिल्छ?
हो, रमाइला संवादहरू छन्। अब संवाद भन्न थाल्यो भने दर्शकलाई पहिल्यै सुनेझैँ लाग्नसक्छ। त्यही ट्रेलरमा भएको संवाद छ नि ‘भाग्यमा रुन लेख्या रैछ भने गोलभेडा काट्दा नि आँशु आउने रैछ बाबै।’
अबको फिल्म ?
अहिले म ‘उपहार’ फिल्मको छायांकनका लागि डान्स सिक्दैछु। मुकुन त्यति नाच्न जान्ने कलाकार हैन। त्यसैले सिक्नैपर्यो। त्यसपछि ‘ज्वाइँ साप’मा आवद्ध भएको छु। ‘विच्छेद’ र ‘म राजेश हमाल’ को सुटिङ सक्किइसकेको छ।
भोलिका दिनका कुनै योजना ?
मलाई थाहा छ मुकुन अहिलेजस्तो सधै व्यस्त हुँदैन भन्ने। सिनेमामा अफर आएसम्म काम गरिरहने नै छु। सबैभन्दा ठूलो कुरा के काममा खुसी हुन्छ भन्ने नै हो। अब ग्यारेजै चलाउन बस्न पनि सक्छु। गाउँमा फर्किएर भैँसी पालेर बस्न पनि सक्छु।
तपाईंको कला यात्रा सफल होस्। हाम्रो शुभकामना छ।
हस्, धन्यवाद।
भदौ ९, २०८० शनिबार ११:५१:२४ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।