पहिरोले बागलुङमा दुई घर भत्किए, दर्जन बढी उच्च जोखिममा

पहिरोले बागलुङमा दुई घर भत्किए, दर्जन बढी उच्च जोखिममा
फाइल फोटो

ढोरपाटन : भारी वर्षाका कारण बागलुङमा दुई दर्जन बढी घर पहिरोको जोखिममा परेका छन्। जिल्लाको बागलुङ नगरपालिका–६ मैदानका १२ घर र सिमका उपल्लोबारीका करिब १२ घर पहिरोको जोखिममा परेका हुन्।

वर्षाको कारण पहिरोले घर भत्किँदा मैदानका दुई परिवार पूर्ण रुपमा विस्थापित भएका छन्। 

वर्षाले घर भत्किँदा स्थानीय जमुना आचार्य र नारायणप्रसाद सापकोटाको परिवार विस्थापित भएको बागलुङ नगरपालिका–६ का वडाध्यक्ष रुद्रबहादुर केसीले बताए।

घर भत्किएपछि जमुना आचार्यको परिवार छिमेकी बालकृष्ण आचार्य र नारायण सापकोटाको परिवार छिमेकी मुक्ति आचार्यको घरमा आश्रय लिएर बसेको उनको भनाइ छ। 

घर भत्किँदा नारायणको रु १० लाख बराबरको क्षति भएको छ भने जमुनाको रु ६ लाख बराबरको क्षति भएको छ। वर्षाको कारण वस्तीमाथिको जमिन बग्न थालेपछि रातिको समयमा जागराम बस्न बाध्य भएको स्थानीय सापकोटाले बताए। 

बागलुङ नगरपालिका–४ कुँडुले, वडा नम्बर ५ मालिका हुँदै पञ्कोटबाट वडा नम्बर ७ तितौरे जाने शाखा सडकखण्ड अन्तर्गत मैदानमा सडकमा माथिबाट खसेको पहिरोले अन्य तीन घर परिवार पनि विस्थापित भएका उनले बताए।

भदौ ९, २०८० शनिबार १०:२६:०४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।