१०० रूपैयाँभन्दा बढीको सामानमा भन्सारको नियम लागेपछि सुनसान सुनौली, रुपन्देहीका व्यापारी मक्ख
बुटवल : देशकै दोस्रो ठूलो भारतीय सीमा नाका बेलहियाबाट एक सयभन्दा बढी रूपैयाँको सामान ल्याउँदा अनिवार्य भन्सार तिर्नुपर्ने नियम बनाएपछि भारतीय बजार सुनौलीमा किनमेल गर्न जाने नेपालीको संख्या ९० प्रतिशतले घटेको छ।
गत जेठ १५ गतेदेखि भन्सारबाट १ सय रूपैयाँ भन्दा बढीको सामान ल्याउँदा अनिवार्य भन्सार तिर्नुपर्ने नियम छ। भन्सारको नयाँ नियम पछि यतिबेला भारतीय बजार सुनौलीमा नगन्य मात्रामा मात्र नेपालीहरू किनमेलका लागि पुगेका छन्।
भन्सार कार्यालय अगाडि किनमेल गरेर आउनेहरूलाई कडाइका साथ चेकजाँच गरी भन्सार तिर्न अनिवार्य बनाइएको छ।
भन्सार कार्यालयका कर्मचारी, सशस्त्र प्रहरीले अहिले बेलहियामा सूक्ष्म ढंगले निगरानी बढाइरहेका छन्। भारतबाट आउने सवारीमा पनि कतिपय नेपालीले फाट्टफुट्ट सामान ल्याउने सूचनापछि त्यस्ता सवारी साधनमा पनि चेकजाँचमा कडाइ गरिएको भन्सार कार्यालय भैरहवाले जनाएको छ।
भैरहवा भन्सार कार्यालयका सूचना अधिकारी युवराज अधिकारीले सुरुका दिनमा थाहा नभएर बढी मात्रामा नेपालीहरू बजारका लागि बेलहियामा पुगे पनि अहिले भने त्यो संख्यामा ८० प्रतिशतले कमी आएको बताए।
बजारमा किनमेल गरेर फर्केनेहरूलाई अनिवार्य प्रज्ञापनपत्र भरेर मात्र सामान लैजान दिने गरेको भन्दै भन्सार तिर्नुपर्ने बाध्यतामक व्यवस्थाका कारण धेरै नेपालीहरू भारतीय बजारमा किनमेल गर्न नआएको उनको भनाइ छ।
नेपाली बजारलाई चलायमान बनाउन सीमावर्ती बजारमा भन्सार नीति कडा गर्नुपर्ने आवाज व्यावसायिक संघ संस्थाले उठाउँदै आएकोमा यो कार्यान्वयन भएपछि रुपन्देहीका व्यापारी खुसी भएका छन्।तर भारतीय व्यापारीहरूले भने यसलाई भारतको ‘लाचारीपन’ भनेका छन्।
बेलहिया नाका हुँदै सुनौली पुग्ने ९५ प्रतिशत ग्राहक नेपाली हुन्। सुनौलीमा ३५ वर्षदेखि जयसवाल किनारा पसल सञ्चालन गर्दै आएका अजय जैसवालले नेपालमा भन्सार अनिवार्य गरेपछि सुनौली सुनसान जस्तै बनेको बताए।
पहिलेको तुलनामा ९० प्रतिशत व्यापार घटेको भन्दै भन्सार नीति पहिलेकै अवस्थामा ल्याउन भारतीय नेताहरूले माथिल्लो तहमा भन्नुपर्ने बताए।
‘पहिले जस्तो व्यापार छैन। केही किनमेलका लागि आउनेहरूले पनि भन्सारको डरले सामान लैजान खोज्नुहुन्न। भन्सार तिरेर सामान लैजाँदा त्यो मूल्यमा नेपालमा आउँछ भनेर ग्राहकहरूले भन्नुहुन्छ,’ उनले भने।
सुनौलीमै सात वर्षदेखि कौसल गार्मेन्ट सञ्चालन गरेका जाका जैसवालले भारतकै लाचारिपनले नाकामा कडाइ भएको बताए।
‘सुनौलीमा नेता राम्रो भएन। पहिलेका नेता भएको भए यो २ घण्टा पनि नियम टिक्ने थिएन। अहिलेका नेताले नाकामा खुकुलो बनाउन पहल गरेनन्,’ उनले भने। उनले अहिले व्यापार व्यवसाय सबै घाटामा गएको समेत बताए।
त्यसो त भन्सारमा रकम तिरेर सामान ल्याउन पनि त्यति सहज भने छैन। नाकाबाट जाँदै गर्दा भारतीय प्रहरीको हेपाहा प्रवृत्ति नेपालीले सहनुपर्छ भने फर्केर सामान ल्याउँदा भन्सारका कर्मचारीको व्यवहारबाट आजित हुनुपर्छ।
बुटवलबाट किनमेलका लागि सुनौली पुगेकी मनीषा भुसालले भारतको हेपाहा प्रवृत्ति देखेरै अब सुनौलीमा बजार गर्न नजाने बताइन।
‘३ केजी चिनी समेत ल्याउँदा भन्सारका कर्मचारीले लाखौंको सामान ल्याएर आएको जस्तो व्यवहार गरे। केही सस्तो हुन्छ भनेर सामान लिन आएका हौं। भन्सार तिरेर लैजान खोज्दा पनि व्यवहार राम्रो छैन,’ उनले भनिन्।
भैरहवा भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत मनिराम पौडेलले भन्सार नीति कार्यान्वयनबाट अब पछि नहट्ने बताए। उनले उपभोक्ताबाट राजश्व लिनुभन्दा पनि नेपाली बजारमा उपभोक्ताले किनमेल गर्ने प्रवृत्तिलाई बढावा दिन नीति कार्यान्वयनमा लिएको बताए।
नेपाल उद्योग बाणिज्य महासंघका लुम्बिनी प्रदेश अध्यक्ष कृष्ण प्रसाद शर्माले भने नाकामा कडाइ हुँदा यसले सरकार र नेपाली व्यवसाय सबैलाई फाइदा पुगेको बताए।
साढे २ महिनामा प्रज्ञापन पत्र लिने ८ हजार बढी
गत जेठ १६ गतेदेखि भैरहवा भन्सार कार्यालयले एक सय भन्दा बढी मूल्यको समान ल्याउँदा अनिवार्य भन्सार महसुल लिने व्यवस्था कार्यान्वयनमा ल्यायो। त्यसपछि भन्सारमा प्रज्ञापन पत्र भर्नेको संख्या ह्वात्तै बढेको छ।
भैरहवा भन्सार कार्यालयका सूचना अधिकारी युवराज भट्टराईले स्थानीयहरूले स्वःस्फूर्त रुपमा प्रज्ञापन पत्र भरेर सामान ल्याउने गरेको बताए। उनले नीति कार्यान्वयनको साढे २ महिनाको अवधिमा ८ हजार ९६ जनाले प्रज्ञापन पत्र भरेर सामान ल्याएको र त्यस बापत ८१ लख २ हजार ९०३ रूपैयाँ राजश्व संकलन भएको जानकारी दिए।
नीति कार्यान्वयन नहुँदा जेठ १ गते देखि १५ गतेसम्म जम्मा ३ सय ५७ जनाले मात्रै प्रज्ञापन पत्र भरेका थिए।
गत वर्षको जेठ महिनामा कुल ३ सय ६ जनाले मात्रै प्रज्ञापन पत्र भरेर समान लिएका थिए। त्यस्तै २०८० वैशाखमा १ हजार १ सय ८३ जनाले मात्र प्रज्ञापन पत्र भरेर सामान ल्याएको भन्सार कार्यालयले जनाएको छ।
भदौ ९, २०८० शनिबार ०८:१३:३९ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।