अन्तर्राष्ट्रिय अवार्ड जितेको फिल्म ‘महानगर’को हलमा बिजोग, ‘जय हो’ को पनि जय भएन

अन्तर्राष्ट्रिय अवार्ड जितेको फिल्म ‘महानगर’को हलमा बिजोग, ‘जय हो’ को पनि जय भएन

काठमाडौं : कार्म अनि मेनुका प्रधानको अभिनय रहेको फिल्म ‘महानगर’ शुक्रबार नेपालमा रिलिज भयो। तर, सन् २०२१ मा बाटै यसले अन्तर्राष्ट्रिय मञ्चहरूको यात्रा सुरू गरेको थियो।

यो फिल्म कोलकाता अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा विश्व प्रिमियर भएको थियो। अमेरिकाको ब्रुकलिन फिल्म फेस्टिभल, नेपाल अमेरिका अन्तर्राष्ट्रिय फिल्म फेस्टिभल, वासिङ्टन डिसी साउथ एसियन फिल्म फेस्टिभल, स्पेनको एसियन फिल्म फेस्टिभल, पामे अन्तर्राष्ट्रिय फिल्म फेस्टिभल र नेपाल अन्तर्राष्ट्रिय फिल्म फेस्टिभल (निफ)मा महानगर प्रदर्शन गरियो।

निफमा राष्ट्रिय फिल्मको क्याटगरीमा उत्कृष्ट फिल्म, उत्कृष्ट पटकथा, अभिनय तथा निर्देशनको अवार्ड पाएको यो फिल्मले नेपाल अमेरिका अन्तर्राष्ट्रिय फिल्म फेस्टिभलमा नेपाली पानोरामअन्तर्गत अनरेवल मेन्सन, इण्डस भ्याली इन्टरनेसनल फिल्म फेस्टिभलमा ‘मोस्ट इन्सिपिरेसनल थिम’ अवार्ड र कार्मले अभिनयमा स्पेसल जुरी मेन्सन अवार्ड पाएका थिए।

तर, नेपाली हलमा यसको व्यापारको अवस्था हेर्ने हो भने माथिका सफलताको सूची पत्यार लाग्दैन। तर, सत्य यहि हो।

शुक्रबार अर्को नेपाली फिल्म ‘जय हो’सँगै महानगर पनि रिलिज भयो। तर, तेस्रो सातामा नेपाली हलहरूमा जमिरहेको ‘गदर-२’ अनि ‘ओएमजी-२’ ले टन्न शोहरू पाउँदा महानगरले अति कम शोहरू पायो।  कतिपय हलमा त यो फिल्मले एक शो पनि पाएन।

क्युएफएक्सको चेनमा यसले भाटभटेनी भक्तपुर र छाया सेन्टरमा मात्र एक-एक शो पाएको छ शनिबार। क्युएफएक्समै चेनमा ‘गदर-२’ ले १३ शो छ भने ‘ओएमजी-२’ ले ११ शो पाएको छ।

एफक्यूबमा त एक शो पनि छैन। वन सिनेमामा पनि ‘महानगर’ले एक शो पनि पाएन।

एक साँझ अकस्मात् भेटिने दुई अपरिचित व्यक्तिको सम्बन्ध र घटनाक्रममा आधारित फिल्मलाई दर्शकले वास्तै गरेनन्। कमजोर प्रचारका कारण कतिपय दर्शकले त यो फिल्म लागेको छ भन्ने जानकारी समेत पाएको देखिएन। शुक्रबार पनि अत्यन्त कम शो पाएको फिल्मको अकुपेन्सी निकै कम थियो। त्यसको प्रभावले शनिबार पनि सोहरू बढ्न सकेनन्।

आक्रामक प्रचार गरिएको ‘जय हो’ को हालत पनि उस्तै देखियो हलहरूमा। शनिबार बिदाको दिन राम्रै शो पाउनुपर्ने हो। तर, शुक्रबारको व्यापार हेरेर हल सञ्चालकहरूले ‘गदर-२’ लाई नै पत्याए। यो फिल्ममा सलोन बस्नेत, केकी अधिकारी लगायतको भूमिका रहेको छ।

वान सिनेमा ‘जय हो’ले जम्मा तीन शो पाएको छ। एफक्यूबमा बिहान साढे आठ र दिउँसो दुई बजेको दुई शो मात्र पाएको छ। ‘गदर-२’ ले यही हलमा चार शो पाएको छ।  क्यू सिनेमाज्मा चार शो राखिएको छ ‘जय हो’ को। 

भदौ ८, २०८० शुक्रबार २१:४६:२० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।