कोशीमा ५० भन्दा बढी मत ल्याएर एमालेले सरकार चलाउँछ : अध्यक्ष ‌ओली

कोशीमा ५० भन्दा बढी मत ल्याएर एमालेले सरकार चलाउँछ : अध्यक्ष ‌ओली

काठमाडौं : एमाले अध्यक्ष केपी शर्मा ओलीले कोशी प्रदेशमा एमालेको नेतृत्वको सरकार बन्ने दाबी गरेका छन्।

शुक्रबार विराटनगर विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै ‌ओलीले एमालेको नेतृत्वमा सरकार बन्ने र मज्जाले चल्ने बताएका हुन्।

उनले भने, ‘एमालेको सरकार बन्छ। एमालेको सरकार चल्छ। एमालेले मज्जाले चलाउँछ।’

सरकार चलाउन त ४७ सांसदको समर्थन चाहिएला नि भन्ने प्रश्नमा ओलीले भने,‘४७ होइन, ५० भन्दा माथि जान्छ।’

९३ सदस्यीय कोशी प्रदेशमा सरकार बनाउन ४७ सांसदको बहुमत चाहिन्छ। त्यहाँ उपसभामुखसहित एमालेका ४० र राप्रपाका ६ सांसद् छन्।

उता अहिलेको सत्तारुढ दलसँग ४७ सांसदको समर्थन छ। तर, प्रदेशसभाको सभाध्यक्ष गरेका कांग्रेस सांसदले मुख्यमन्त्री उद्धव थापालाई मत दिएका कारण सर्वोच्चले त्यसलाई असंवैधानिक ठहर गरिसक्यो।

सञ्चारकर्मीमाझ ओलीले सत्ता गठबन्धनको अलोकतान्त्रिक र असंवैधाािनक क्रियाकलापका कारण कोशीमा अस्थिरता देखिएको आरोप लगाए।

‘सत्ता पक्षले नबनेको सरकार बन्यो भन्ने, सभामुखलाई राजीनामा गर्न लगाउने जस्ता काम  गर्ने,’ उनले भने, ‘कांग्रेस जस्तो पुरानो पार्टीले एकछिनका लागि बलजफ्ती गरेको, संविधान मिच्ने?’

हिजो हतियार उठाएर हिँडेको माओवादीले संविधान नमान्नु ठूलो विषय नभएको बताउँदै उनले भने, ‘कांग्रेसले त मान्नुपर्थ्यो नि कमसेकम?’

भदौ ८, २०८० शुक्रबार १९:५२:३५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।