चन्द्रयान-३ : विक्रम ल्यान्डर छोडेर आठ मिटर हिड्यो प्रज्ञान रोभर

चन्द्रयान-३ : विक्रम ल्यान्डर छोडेर आठ मिटर हिड्यो प्रज्ञान रोभर

काठमाडौं : भारतीय अन्तरिक्ष अनुसन्धान संगठन (इसरो)ले शुक्रबार साँझ चन्द्रयान-३ को चन्द्र सतहको बारेमा नयाँ जानकारी दिएको छ।

विक्रम ल्यान्डर छोडेपछि प्रज्ञान रोभरले आठ मिटरको दुरी सफलतापूर्वक पार गरेको इसरोले जनाएको छ। इसरोले रोभरको सबै गतिविधिको पुष्टि गरेको छ।

उसले सामाजिक सञ्जाल एक्समार्फत् सबै पेलोडहरूले काम गरिरहेको बताउँदै एलआईबीएस र एपीएक्सएस पनि सक्रिय रहेको बतायो।

इसरोले त्यसअघि प्रज्ञान रोभर चन्द्रमाको सहतमा गएको भिडियोसमेत सार्वजनिक गरेको थियो। चन्द्रमाको दक्षिणी ध्रुवमा अन्तरिक्ष यान ओराल्ने भारत विश्वको पहिलो मुलुक हो।

चन्द्रयान–३ लाइ श्रीहरिकोटास्थित सतिश धवन स्पेस सेन्टर वाट गत १४ जुलाईमा लन्च गरिएको थियो। विक्रम ल्यान्डर र प्रज्ञान रोभरले अब दुई सातासम्म चन्द्रमाको दक्षिणी ध्रुवको सतहमा काम गर्नेछ। यो १४ दिन चन्द्रमाको १ दिन बराबर हो।

इसरोको अनुसार चन्द्रयान ३ ले चन्द्रमामा परेको प्रकाश र विकीरणको अध्ययन गर्नेछ। यस्तै यसले चन्द्रमाको थर्मल कन्डक्टिभिटी र तापक्रमको समेत अध्ययन गर्नेछ।

चन्द्रयान–३ ले अवतरण स्थलको वरिपरि भूकम्पीय गतिविधिहरूको अध्ययन गर्नेछ। यस्तै प्लाज्माको घनत्व र यसमा भएका परिवर्तनहरूको अध्ययन समेत गर्नेछ।

इसरो प्रमुख एस सोमनाथले भारतीय सञ्चार माध्यमलाई भने अनुसार अवतरण भएको २४ घण्टापछि विक्रम ल्यान्डर र प्रज्ञान रोभर दुवै पूर्ण रूपमा सञ्चालित छन्।

भदौ ८, २०८० शुक्रबार १९:१६:४४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।