ग्रीसमा नेपालीको अपहरण, फिरौती लिएको अभियोगमा चार जना काठमाडौंबाट पक्राउ

ग्रीसमा नेपालीको अपहरण, फिरौती लिएको अभियोगमा चार जना काठमाडौंबाट पक्राउ

काठमाडौं : ग्रीसमा नेपालीलाई अपहरण गरी फिरौती रकम लिने कार्यमा संलग्न रहेको अभियोगमा ४ जनालाई प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेहरूमा धनकुटा महालक्ष्मी नगरपालिका-५ का ३२ वर्षीय शिव राज कुँवर, काठमाडौं तार्केश्वर नगरपालिका-५ कुमालटार बस्ने ५६ वर्षीय रामेश्वर अर्याल, कपिलवस्तु शिवराज नगरपालिका-१ का ३२ वर्षीय प्रकाश बेलाबासे र पर्वत फलेवास नगरपालिका-१ शंखपोखरी का ४२ वर्षीय दिल बहादुर थापा रहेका छन्।

नेपालबाट सिजनल भिषामा वैदेशिक रोजगारीका सिलसिलामा गत जेठ १२ गते सर्बिया गएका १ जना महिला र २ जना पुरूषहरूले सर्बियामा चित्तबुझ्दो रोजगार तथा तलब सुविधा नपाएपछि लुकिछिपी गीस प्रवेश गरेका थिए।

साेही क्रममा उनीहरूलाई केही व्यक्तिहरूले अपहरण गरी, डोरीले बाँधी शारीरिक तथा मानसिक यातना र डर त्रास देखाई १५ हजार युरो फिरौती माग गरेको उजुरीको आधारमा केन्द्रीय अनुसन्धान व्यूरो महाराजगञ्जबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो।

थप अनुसन्धानको क्रममा ग्रिस तथा दुवईबाट वटस् एपमार्फत पीडित परिवारहरूलाई सम्पर्क गरी नेपाली २१ लाख ७५ हजार रूपैयाँ फिरौती रकम नेपालमा लिने कुँवरलाई गौरिघाटबाट भदौ २ गते, नेपालमा फिरौती लिएकाे रकम कुँवरसँग लिन सम्पर्क भएका अर्याललाई काठमाडौं तार्केश्वरबाट भदौ ३ गते पक्राउ गरेको हो।

यस्तै, दुबईबाट नेपालमा कुँवरलाई फिरौती रकम लिन लगाउने तथा अर्याललाई रकम दिनु भन्ने बेलबासे र दुबईमा बेलबासेलाई रकम नेपालको अर्याललाई दिनु भनि सम्पर्क नम्बर दिने थापालाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भदौ ६ गते पक्राउ गरिएको प्रहरीले जनाएको छ।

उनीहरूलाई उपर अपहरण तथा शरीर बन्धक मुद्दामा म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेको छ।

भदौ ८, २०८० शुक्रबार १८:५८:३८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।