गोरुकाण्डले धरानमा तनाव : हिन्दुवादीको कार्यक्रम रोक्न सर्वदलीय अनुरोध
धरान : जातीय आधारमा गाइ-गोरु काटेर मासु खान पाउनुपर्ने भन्दै सामूहिक भोज गरेको भिडियो र तस्बिर सार्वजनिक भएसँगै धरानमा बढेको विवाद साम्य हुन सकेको छैन।
धरानको समाजै पक्ष-विपक्षमा बाँडिएका छन्। प्रहरीले अनुसन्धान सुरु गर्दै केही व्यक्तिहरूलाई पक्राउ समेत गरेको छ। उता एकाएक हिन्दु समर्थकको नाममा शनिवार कार्यक्रम घोषणा गरिएपछि दङ्गाको आशङ्कामा स्थानीय प्रशासनदेखि लिएर सबै राजनीतिक दल सक्रिय भएका छन्।
स्थानीय प्रशासनले शुक्रवार बेलुकाबाटै बाहिरबाट धरान आउन रोक लगाएको छ भने राजनीतिक दलहरूले सर्वदलीय बैठक राखेर शनिवार घोषित कार्यक्रम रोक्न आग्रह गरेका छन्।
उनीहरूले संयुक्त विज्ञप्ति निकाल्दै सामाजिक सद्भाव तथा शान्ति सुरक्षा कायम गर्न आग्रह गर्दै घोषित कार्यक्रम रोक्न आग्रह गरेको हो।
शुक्रवार धरानमा बिग्रँदो माहौलबारे छलफल गर्न १३ दलको संयुक्त बैठक बसेको थियो। बैठकपछि उनीहरू सबैले हस्ताक्षर गरेर साझा विज्ञप्ति जारी गरेर सामाजिक सद्भाव खलबलिने कुनै पनि कार्यक्रम नगराउन र सामाजिक सञ्जालबाट पनि सामाजिक सद्भावमा समस्या उत्पन्न हुने सामाग्री शेयर नगर्न नगराउन अनुरोध गरेका छन्।
‘सबै जाति, धर्म, समुदायले एक आपसको धर्म, संस्कार, संस्कृति र परम्परालाई सम्मान गर्दै सामाजिक द्वेष तथा आस्थामा ठेस पुर्याउने गतिविधि नगरिदिनुहुन अनुरोध गर्दछौँ’ विज्ञप्तिमा भनिएको छ।
स्थानीय स्तरमा देखिएका धार्मिक, सांस्कृतिक विवादका विषयहरूलाई सर्वपक्षीय साथै सर्वदलीय वार्ता तथा संवादबाट समाधान गर्न आफूहरू प्रतिबद्ध रहेको विज्ञप्तिमा उल्लेख छ।
धरानका मेयर हर्क साम्पाङले समेत विज्ञप्ति निकालेर सामाजिक सद्भाव कायम गर्न आग्रह गरेका थिए। धरानमा पछिल्लो समय मन्दिर अगाडि चर्च बनाएको विषयमा समेत विवाद भइरहेको छ।
भदौ ८, २०८० शुक्रबार १८:३५:२१ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।