संखुवासभा कैदी हत्या प्रकरणमा १२ जनाविरुद्ध मुद्दा चलाइने‚ कारागारका निमित्त प्रमुख निलम्बित

संखुवासभा कैदी हत्या प्रकरणमा १२ जनाविरुद्ध मुद्दा चलाइने‚ कारागारका निमित्त प्रमुख निलम्बित

काठमाडौं : संखुवासभाको कारागारभित्र २ कैदीको हत्या प्रकरणमा प्रहरीसहित आरोपी १२ जनालाई मुद्दा चलाउने तयारी भएको छ।

कैदीको हत्या प्रकरणमा मुछिएका प्रहरी र कैदीसहित १२ जना विरुद्ध प्रहरीले अदालतमा मुद्दा चलाउने तयारी गरेको हो। 

कैदीको हत्या प्रकरणमा प्रहरी र कारागारका चौकीदारसहित १२ जना अनुसन्धानका लागि हिरासतमा छन्। 
कैदी हत्या प्रकरणमा प्रहरीसहित १२ जनाविरुद्ध कर्तव्य ज्यानमा मुद्दा दर्ता गरिएको छ। 

कैदी हत्या प्रकरणमा अनुसन्धान भइरहेका प्रहरी र चौकीदारसहित १२ जनाको मुद्दा अदालतमा बुझाउने तयारी भइरहेको जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रहरी नायव उपरीक्षक वीरेन्द्र गोदारले जानकारी दिए।

कारागारमा रहेको सिसिटिभी फुटेज अध्ययनबाट घटनामा प्रहरी र चौकीदारसहित केही कैदीको संलग्नताले देखिएको थियो। 

कैदी हत्या प्रकरण प्रत्यक्ष संलग्न देखिएका ५ जना प्रहरीलाई विभागीय कारवाही हुने प्रहरीले जनाएको छ।
घटनालगत्तै गृहमन्त्रालयले कारागार विभागका निर्देशक कमलप्रसाद पाण्डेको नेतृत्वमा ५ सदस्यीय छानबिन टोली बनाएको थियो। 

गृह मन्त्रालयले छानबिन टोलीलाई १० दिनभित्र कारागार घटनाको प्रतिवेदन बुझाउन निर्देशन दिएको थियो।

कारागार सुरक्षा इन्चार्ज प्रहरी सहायक निरीक्षक (असई) लक्ष्मी चौधरीमाथि जिल्ला अदालतबाट भदौ १ गते शुक्रबार दोस्रो पटक पुनः म्याद थपेर अनुसन्धान भइरहेको छ। 

असई चौधरीसहित ११ जनाविरुद्ध कर्तव्य ज्यान मुद्दा दर्ता गरेर अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

पीडितले दिएको किटानी जाहेरीका आधारमा सहायक निरीक्षक चौधरीसहित कारागार निमित्त प्रमुख राजेन्द्र घिमिरेविरुद्ध जिल्ला अदालत संखुवासभाले गत साउन २८ गते पक्राउका लागि अनुमति दिएको थियो। 

कारागार निमित्त प्रमुख राजेन्द्र घिमिरे पदबाट निलम्वन गरेको भएपनि हालसम्म पक्राउ गरिएको छैन।
प्रहरीले घटनालगत्तै कारागार सुरक्षामा खटिएको १० प्रहरी र चौकीदारसहित ९ कैदीलाई नियन्त्रणमा लिएको थियो। 

कुटपिटबाट गत साउन २४ गते संखुवासभा मादी नगरपालिका–५ का २० वर्षीय विनोद तोलांगी र नुवाकोटको ककनी गाउँपालिका–७ का २८ वर्षीय आकाश बलामीको मृत्यु भएको थियो।

२५ जनाको क्षमता रहेको कारागारमा अहिले १३६ जना कैदीबन्दी छन्। 

भदौ ८, २०८० शुक्रबार १७:२०:३१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।