जनताले सम्झने काम गरेर ढुक्कसँग मर्ने रहर छ : प्रधानमन्त्री प्रचण्ड

जनताले सम्झने काम गरेर ढुक्कसँग मर्ने रहर छ : प्रधानमन्त्री प्रचण्ड

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफूलाई ढुक्कसँग मृत्युवरण गर्न मन लागेको बताएका छन्।

समाजवादी मोर्चाको मधेश प्रदेशको सन्देश सभामा प्रधानमन्त्री प्रचण्डले यस्तो बताएका हु्न्। आफूलाई राम्रोबाहेक अरु गर्नुपर्ने कुनै कारण नभएको भन्दै उनले जनताले सम्झने केही काम गरेर मात्र मृत्युवरण गर्न मन भएको बताए।

‘मरेर जाँदा जनता, इतिहास र भावी पिढीँले योपटक यो राम्रो काम भयो भन्ने भएमा मर्ने बेलामा पनि आनन्दसँग.... ढुक्कसँग मर्ने मात्रै रहर छ,’ उनले भने, ‘मलाई अब राम्रोबाहेक अरु गर्नपर्ने कुनै कारण पनि छैन, जीवनको उत्तराद्र्धमा नेपाली जनताले सम्झने केही राम्रा काम गरेर जान चाहन्छु।’

देशमा केही राम्रो हुन लागेपछि एकथरी मान्छेहरू आतंकित र विक्षिप्त बनेको भन्दै प्रधानमन्त्री दाहालले तिनीहरू गठबन्धन र सरकार ढलाउनका लागि रातदिन धूप हालेर हिँडेको बताए।

आफैँले विशेष ध्यान दिएर तस्करी हुन लागेको सुन पक्रन लगाएको भन्दै उनले सुन पक्रँदा उल्टो दण्डित हुनुपर्लाजस्तो भएको बताए।

उनले भने, ‘म आफैँले विशेष ध्यान दिएर सुन पक्रिन लगाइयो तस्करीको, अहिले त पक्रेबापत दण्डित हुनुपर्लाजस्तो। बरु छोड्देको भए केही पनि हुने थिएन जस्तो।’

माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रचण्डले समाजवादी मोर्चाले मात्र देशमा समाजवाद ल्याउन सम्भव भएको जिकिर गर्दै आफूहरूलाई विश्वास गर्न आग्रह गरे।

भदौ ८, २०८० शुक्रबार १७:०७:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।