महिला टी–२० शृङ्खला : मलेसियासँग हारे पनि नेपाल फाइनलमा

महिला टी–२० शृङ्खला : मलेसियासँग हारे पनि नेपाल फाइनलमा

काठमाडौं : मलेसियासँग हारे पनि नेपाल चार देश सम्मिलित महिला टी–२० शृङ्खलाको फाइनलमा पुगेको छ।

आज शुक्रवार मलेसियाको बायोमास ओभल मैदानमा भएको खेलमा नेपालले दिएको ८४ रनको सामान्य लक्ष्य मलेसियाले १६ ओभर २ बलमा ४ विकेट गुमाएर भेटायो।

मलेसियाका लागि अइना हमिजा हशिमले नटआउट ३७ र माहिराह इजाती इस्मेलले २१ रन बनाइन्। बलिङतर्फ नेपालकी कप्तान रुबिना क्षेत्री, पूजा महतो र सीता राना मगरले १र१ विकेट लिइन्।

यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित १८ ओभरमा ७ विकेट गुमाएर ८३ रन बनाएको थियो। 

वर्षाका कारण २० ओभरको खेल १८ ओभरमा झारिएको थियो। नेपालका लागि कप्तान रुबिना क्षेत्रीले २३, इन्दु बर्माले २० र विकेटकिपर काजल श्रेष्ठले १८ रन बनाइन्।

बलिङतर्फ मलेसियाकी अइना हमिजा हशिम, नुर दानिया स्युहादा र माहिराह इजाती इस्मेलले २र२ विकेट लिइन्।

नेपाल ३ खेलमा ४ अङ्कसहित शीर्ष स्थानमा रह्यो। यस्तै हङकङ पनि उति नै खेलमा ४ अङ्कसहित दोस्रो स्थानमा रहँदै फाइनलमा पुगेको छ। फाइनल खेल भोलि शनिवार हुनेछ।

भोलि नै मलेसिया र ३ खेलमै अङ्कविहीन रहेको कुवेतबीच तेस्रो र चौथो स्थानका लागि खेल हुनेछ ।

भदौ ८, २०८० शुक्रबार १६:०४:५२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।