नेपालमा अन्तिम विद्रोह जरुरी छ : विप्लव

नेपालमा अन्तिम विद्रोह जरुरी छ : विप्लव

काठमाडौं : नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ’विप्लव’ले नेपालमा अन्तिम विद्रोहको आवश्यकता रहेको बताएका छन्।

समाजवादी मोर्चाको वीरगन्जमा आयोजित सभामा बोल्दै उनले नेपालको दलाल पुँजीवादविरुद्धको अन्तिम विद्रोह आवश्यक रहेको बताए। उनले त्यो विद्रोहमा मधेसको साथ पनि चाहिने बताए। 

उनले अहिलेको व्यवस्थाले जनताको चाहना पूरा नगरेको आरोप लगाए। उनले नेताहरूले नेपाली युवाहरूलाई बेचेर खाडीमा पठाएको बताए।  

नेताहरूले गाउँगाउँमा म्यानपावर खोलेर युवाहरूलाई पैसा खोज्न मरुभूमिमा पठाइरहेको बताए। 

‘नेपाल प्राकृतिकरूपले धेरै धनी छ, सम्पन्न छ। तर नेताहरूले हाम्रा युवाहरूलाई पैसा खोज्न मरुभूमि पठाउने काम गरिरहेको छ। नेताहरूले नै युवालाई बेचेर खाने काम गरिरहेको छ,’ उनले भने।

उनले समाजवादी मोर्चाको निर्माणपछि केही शक्तिहरू अतालिएको बताए। ‘मोर्चा आएपछि कयौंको निन्द्रा उडेको छ। देशभित्र र बाहिरबाट पनि घेराबन्दी हुने काम भइरहेको छ। तर हामी सानातिना घेराबन्दी र हस्तक्षेपबाट डराउँदैनौं,’ उनले भने।
 

भदौ ८, २०८० शुक्रबार १५:००:५८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।