लगातारको वर्षाले कालीगण्डकीको बहाव दुई वर्ष यताकै उच्च विन्दुमा

लगातारको वर्षाले कालीगण्डकीको बहाव दुई वर्ष यताकै उच्च विन्दुमा
फाइल फोटो

पर्वत : लगातारको वर्षाका कारण मुस्ताङ, म्याग्दी, बागलुङ, पर्वत हुँदै बग्ने कालीगण्डकी नदीको बहाव दुई वर्ष यताकै उच्च विन्दुमा पुगेको छ।

मुस्ताङ, म्याग्दी, बागलुङ र पर्वतमा परेको अत्यधिक वर्षाका कारण नदीको सतह बढेको हो। दुई वर्ष यताकै उच्च विन्दुमा नदीको सतह पुगेको कालीगण्डकी नदीमा पानीको बहाव नाप्दै आएका गेज रिडर कृष्णप्रसाद सुवेदीले बताए।

शुक्रबार बिहानैदेखि नदीको सतहदेखि झन्डै आठ मिटर उचाइमा बहाव भइरहेको उनले बताए। अहिले पानीको बहाव झन्डै दुई सय ८३ क्युसेक रहेको छ। वर्षा नरोकिएमा अझै बहाव बढ्ने सम्भावना रहेको छ।

कालीगण्डकी नदीको बहाव अत्यधिक मात्रामा बढेपछि तटीय क्षेत्रका बासिन्दा जोखिममा परेका छन्। बहाव उर्लिएपछि पर्वत, स्याङ्जा र गुल्मीको सिमानामा अवस्थित विश्वकै ठूलो शालिग्राम शिलासमेत डुबानमा परेको छ।

कालीगण्डकी ‘ए’ जलविद्युत आयोजनाको बाँधका कारण बाढी आउँदा पर्वत, स्याङ्जा र गुल्मीको सिमानामा पर्ने सेतीबेनी बजार डुबानको खतरामा पर्ने गरेको हो।

बाँधका सबै ढोका भने खोलिएका छन्। कालीगण्डकी र सेतीखोलाको बहाव बढेसँगै सेतीबेनी बजार डुबानमा पर्ने चिन्ताले पर्वतमा पर्ने बजार क्षेत्र र स्याङ्जा तर्फको बजार क्षेत्रका झन्डै दुई सय व्यापारी तथा सर्वसाधारण त्रसित बनेका छन्।

भदौ ८, २०८० शुक्रबार १३:५८:५२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।