हुम्लाको रिपगाड खोलामा बाढी : दाइ बेपत्ता भाइको उद्दार

हुम्लाको रिपगाड खोलामा बाढी : दाइ बेपत्ता भाइको उद्दार

हुम्ला : हुम्लाकोृ रिपगाड खोलामा आएको बाढीमा एकजना युवक बेपत्ता भएका छन्।  

बुधबारदेखि निरन्तर परेको भदौरे वर्षाका कारण सर्केगाड गाउँपालिका २ स्थित रिपगाड खोलामा आएको बाढीले सिमकोटबाट घर फर्किदै गरेका ताँजकोट गाउँपालिकाका मनऋषी जैशी बेपत्ता भएको स्थानीय विजय फडेराले जानकारी दिए। 

ताँजकोटका ५० वर्षीय मनऋषी र उनका भाइ ४० वर्षीय धर्मदत्त जैशी खोला तर्दै गर्दा मनऋषीलाई बाढीले बगाएर बेपत्ता बनाएको हो। रिपगाड खोलामा आएको बाढीले झोलुङ्गे पुल र काठको साँघु समेत बगाएको छ।

धर्मदत्तलाई आफूले खोलाबाट उद्धार गरेर भर्खर रिप गाउँमा ल्याइएको उनीसँग रहेका रिप गाउँका एकजना स्थानीयले बताए। उनीहरू  सिमकोटबाट बिहीबार साँझ घर फर्किँदै थिए। 

बेपत्ता जैशीको खोजिका लागि रिपका स्थानीयले स्थानीय प्रहरी चौकीलाई गुहार गरेपनि वर्षा र खोलामा पानीको बहाब नघटेका कारण उद्धारमा समस्या भइरहेको प्रहरीले जनाएको छ। 

बाढीले  रिपगाड खोलमा दुईवटा परम्परगत घट्टसहित घट्टमा पिस्न राखिएका ३० बोरा अन्न समेत बगाएको  घट्ट हेराला गएकी बासु रावतले जानकारी दिइन्।

बिहान ७ बजेतिर अचानक खोलाबाट ठूलो आवाज आएपछि भागेर ज्यान बचाएको उनले बताइन्। कर्णालीको पानी रोकिएपछि रिपगार्डको आसपासमा  क्षेत्र डुबानमा परेको छ।

भदौ ८, २०८० शुक्रबार १३:३०:४२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।