अर्थमन्त्री डा. महत जीईएफको उपाध्यक्षमा निर्वाचित
काठमाडौं : अर्थमन्त्री डा. प्रकाशशरण महत ग्लोबल इनभ्यारोमेन्ट फ्यासिलिटी (जीईएफ)को उपाध्यक्षमा निर्वाचित भएका छन्।
जीईएफको सातौं विश्व सम्मेलनको प्लेनरी सेसनबाट महत उपाध्यक्षमा निर्वाचित भएका हुन्। जारी सम्मेलनको शुक्रबारको एसेम्बली बैठकमा गणतन्त्र पानामाको प्रस्ताव तथा नेदरल्यान्डको समर्थनमा मन्त्री महत उपाध्यक्षमा निर्वाचित भए।
यस अगाडि महतले विश्व वातावरण कोषको एसेम्बली बैठकमा सम्बोधन गर्दै नेपालले कूल क्षेत्रफलको ४५ प्रतिशत वन संरक्षण गरी समग्र मानव समुदायको लागि स्वच्छ अक्सिजन प्रवाह गरेको बताए। साथै, उनले नेपाल दक्षिण एसियाका एक अर्बभन्दा बढी जनसंख्याको लागि पानीको श्रोत रहेको विषयमा विश्व समुदायको ध्यानाकर्षण गराएका थिए।
यसैगरी नेपालले जैविक विविधताको संरक्षणमा प्रयत्न गरिरहेको र दुर्लभ तथा संकटापन्न जंगली जनावर तथा प्रजातीहरूको संरक्षण गरेको पनि उनले उल्लेख गरे। जसको नतिजा स्वरूप नेपालमा बाघ तथा गैंडाको संख्यामा उल्लेख्य रूपमा बृद्धि भएको महतले बताए।
यस्ता वन तथा वनजन्य सम्पदा नेपालको लागि मात्र नभइ विश्व मानव समुदायकै सम्पदाको रुपमा रहेको उल्लेख गर्दै उनले यी प्रयासका बाबजुद पनि नेपाल जलवायु परिवर्तनका दृष्टिकोणले उच्च जोखिममा रहेको उल्लेख गरे। जहाँ नेपाल विश्वको १०औं जोखिमयुक्त मुलुक भएको र पछिल्ला दिनहरूमा बाढी, पहिरो, अतिवृष्टि, खडेरीका साथै हिमताल विस्फोटको जोखिम समेत बढेको महतले बताए।
नेपालको तापक्रम सन् २०३० सम्ममा ०.५ देखि २.० डिग्री सेल्सियसले बढ्ने अनुमान रहेको र यसबाट हुने असर र प्रभावसँग सामना गर्न सन् २०५० सम्ममा ५० अर्ब अमेरिकी डलरभन्दा बढी लगानी आवश्यक रहेकोतर्फ मन्त्री महतले सहभागीहरूको ध्यानाकर्षण गराए।
भदौ ८, २०८० शुक्रबार १२:५१:०३ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।