लगानी बोर्ड बैठक : चार जलविद्युत् परियोजनाका लागिे ३६ अर्ब ३७ करोड लगानी स्वीकृत

लगानी बोर्ड बैठक : चार जलविद्युत् परियोजनाका लागिे ३६ अर्ब ३७ करोड लगानी स्वीकृत

काठमाडौं : लगानी बोर्डको ५५ औं बैठकले चारवटा जलविद्युत् परियोजनाहरू (रोल्वालिङ खोला, छुजुङ्ग खोला, दाना खोला र सानीभेरी जलविद्युत् परियोजना) का लागि कुल ३६ अर्ब ३७ करोड रुपैयाँ बराबरको लगानी स्वीकृत गरेको छ। 

बोर्डका अध्यक्ष एवम् प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को अध्यक्षतामा शुक्रबार बोर्डको कार्यालयमा बसेको बैठकले तमोर जलाशययुक्त जलविद्युत् परियोजना कार्यान्वयन अघि बढाउने सम्बन्धमा हालसम्मको विकासक्रमको समीक्षा गर्दै परियोजनाको कार्यदिशासम्बन्धी सुझाव पेश गर्न उच्चस्तरीय समिति गठन गर्ने निर्णय पनि गरेको छ।

त्यस्तै, दाङ जिल्लाको राजपुर गाउँपालिकामा २४५ मेगावाट र २० मेगावाट ब्याट्री क्षमताको सौर्य ऊर्जा परियोजनाको अध्ययनका लागि ’डोल्मा हिमालयन इनर्जी’लाई अध्ययन अनुमतिपत्र दिने निर्णय गरेको छ। 

साथै, बाँकेको कोहलपुर र कपिलवस्तुको वाणगंगामा २५० मेगावाटको सौर्य ऊर्जा विकासका लागि अध्ययनकर्ता राईजेन इनर्जी कम्पनीबाट पेस भएको विस्तृत सम्भाव्यता अध्ययन प्रतिवेदनलाई बोर्डले जानकारीका लागि लिएको छ।

बोर्डले माथिल्लो कर्णाली जलविद्युत् परियोजनाको सम्बन्धमा सर्वोच्च अदालतबाट जारी भएको निर्देशनात्मक आदेश कार्यान्वयनका लागि मन्त्रिपरिषद् समक्ष प्रस्ताव पेश गर्ने निर्णय पनि गरेको छ।

बोर्डको बैठकले ग्रीन क्याल्सियम नाइट्रेट फर्टिलाइजर फ्याक्ट्री स्थापना सम्बन्धमा अध्ययनका लागि मलेसियास्थित रेनिकोला एसडीएन बीएचडीसँग गरिने समझदारीको मस्यौदा पनि स्वीकृत गरेको छ।

बैठकमा प्रधानमन्त्री दाहालले आगामी दिनमा जलविद्युत् परियोजनाहरूको लागत निर्धारण गर्दा ब्यांकेबल हुने गरी थप विश्लेषण गर्न, कार्यान्वयनमा रहेका परियोजना समयमा सम्पन्न गर्न आवश्यक समन्वय प्रगाढ बनाउन र लगानी स्वीकृति तथा परियोजना कार्यान्वयनमा रहेका प्रक्रियाहरूलाई छोट्याउँदै छिटोछरितो र परिणाममुखी कार्यसम्पादन गर्न निर्देशन दिए।

भदौ ८, २०८० शुक्रबार १२:३९:४८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।