पाकिस्तान पुगेर मोन्टीले भने, ‘विश्वले केही नयाँ देख्नेछ’
काठमाडौं : नेपाली राष्ट्रिय टिमका मुख्य प्रशिक्षक मोन्टी देसाइले आसन्न एसिया कपमा विश्वले केही नयाँ देख्ने बताएका छन्।
पाकिस्तानमा पहिलो दिनको अभ्यासपछि मुख्य प्रशिक्षक मोन्टी देसाइले एसिया कपमा विश्वले केही नयाँ देख्ने बताएका हुुन्।
आफूहरू योग्य भएर नै एसिया कप खेल्न आएको बताउँदै उनले पाएको अवसरको भरपूर सदुपयोग गर्नेसमेत बताए।
‘हामी एसीसी प्रिमियर कप जितेर योग्य भएर नै एसिया कप खेल्न आएका हौँ। सबै केटाहरूले आ–आफ्नो कला देखाए विश्वले केही नयाँ देख्नेछ,’ उनले भने, ‘नेपालले विश्वको दुई ठूला टेस्ट राष्ट्रहरूसँग खेल्न पाउनु आफैँमा एउटा कीर्तिमान हो। हाम्रो लागि यो एक अवसर हो इतिहास रच्ने र ठूला राष्ट्रसँग खेल्ने।’
देसाइले पाकिस्तान क्रिकेट बोर्डले उपलब्ध गराएको व्यवस्थापन र सुविधाको प्रशंसा गर्दै पहिलो दिनको अभ्यास उत्कृष्ट रहेको बताए।
नेपाली राष्ट्रिय टोली बुधबार बिहान पाकिस्तान पुगेको थियो। उसले त्यहाँक केही अभ्यास खेलहरू खेल्नेछ।
३० अगस्टदेखि हुने एसिया कपको पहिलो खेलमा नेपालले आयोजक राष्ट्र पाकिस्तानको सामना गर्नेछ। मुल्तानमा हुने खेल सकेपछि नेपाली टोली श्रीलंका आउनेछ। श्रीलंकामा सेप्टेम्बर ४ तारिखमा नेपालले भारतको सामना गर्नेछ।
भदौ ७, २०८० बिहीबार १९:३५:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।