सर्वोच्चको ठहर : उद्धव थापाले संविधानसम्मत विश्वासको मत लिएको भन्न मिल्दैन
काठमाडौं : सर्वोच्च अदालतले कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले लिएको विश्वासको मतमाथि संवैधानसम्मत नभएको ठहर गरेको छ।
सर्वोच्चका न्यायाधीश ईश्वरप्रसाद खतिवडाको इजलासले दुई जना सभाध्यक्षले मतदान गरेर उद्धव थापाले विश्वासको मत प्राप्त गरेको भनेर घोषणा गर्नु संविधानसम्मत नभएको ठहर गरेको हो।
‘कूल ९३ जना प्रदेश सभा सदस्यहरू रहेको प्रदेश सभाका बहूमत सदस्य ४७ जनाको विश्वासको मत प्राप्त गरेको भनी अध्यक्षता गर्ने सदस्यले दिएको मत समेत गणना गरी उद्धव थापाले विश्वासको मत प्राप्त गर्नु भएको भनी घोषणा गरिएको कार्य नेपालको संविधानको धारा १६८ (२) र (४) तथा धारा १८६, संसदीय अभ्यास, संवैधानिक नैतिकता लगायत यस अदालतबाट प्रतिपादित सिद्धान्त समेतको प्रतिकूल रहेको देखिन आयो,’ फैसामा अगाडि भनिएको छ, ‘‘अतः माननीय मुख्यमन्त्री श्री उद्धव थापाले संविधानसम्मत् रुपमा विश्वासको मत प्राप्त गरेको भनी मान्न मिल्ने अवस्था नदेखिएकाले निजको नेतृत्वमा गठित प्रदेश सरकारबाट प्रस्तुत निवेदन उपरको सुनुवाइ टुङ्गो नलागेसम्म दीर्घकालीन असर पर्ने प्रकृतिका साथै नीतिगत प्रकृतिका निर्णय नगर्नु, नगराउनु भनी प्रत्यर्थीको नाउँमा अन्तरिम आदेश जारी गरिएको छ।’
संवैधानिक व्यवस्थाअनुसार सभाको अध्यक्षता गरेका व्यक्तिले संसद्मा मत बराबर भएको अवस्थामा मात्रै निर्णायक मत दिन मिल्ने पनि स्मरण गराएको छ।
प्रदेशसभा बैठकमा अध्यक्षमण्डलका दुईजना सदस्यहरूले अध्यक्षता गरेको भन्दै एमाले संसदीय दलका नेता हिक्मत कार्कीले बुधबार सर्वोच्चमा रिट निवेदन दायर गरेका थिए।
सर्वोच्चले आगामी भदौ १३ गते बुधबार बेलुकी ५ बजेभित्र कोशी प्रदेश सभामा मुख्यमन्त्री थापाले विश्वासको मत प्राप्त गरेको भनी गरिएको घोषणा लगायत कागजातसमेत सक्कलै साथै राखी लिखित जवाफ पेश गर्न पनि भनेको छ।
मुद्दाको छिटो निरुपण गर्नु वाञ्छनीय देखिएको भन्दै इजलासले पूर्ण सुनुवाइका लागि भदौ १५ गते शुक्रबार पेशीमा अग्राधिकार दिई पेश गर्नसमेत आदेश दिएको छ।
इजलासले निवेदक कार्कीको मागबमोजिम मुख्यमन्त्रीमा नियुक्त गर्न परमादेश भने दिए। कार्कीले संविधानको धारा १६८ को उपधार ३ बमोजिम आफूलाई मुख्यमन्त्री नियुक्तिका लागि प्रदेश प्रमुखको कार्यालयलाई परमादेश दिनसमेत माग गरेका थिए।
भदौ ७, २०८० बिहीबार १८:४५:१२ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।