बाल सुधारगृहको घटनामा मानव अधिकार आयोगले अनुसन्धान थाल्यो, भागेकामध्ये १० जना अझै सम्पर्कविहीन

बाल सुधारगृहको घटनामा मानव अधिकार आयोगले अनुसन्धान थाल्यो, भागेकामध्ये १० जना अझै सम्पर्कविहीन
तस्बिर- कमल प्रसाइँ

काठमाडौं : राष्ट्रिय मानव अधिकार आयोगले भक्तपुरको मध्यपुरस्थित बाल सुधारगृहमा भएको घटनाको अनुसन्धान थालेको छ।

भदौ ३ गते रामेछापका कमल बस्नेतको मृत्यु भएको विषयलाई लिएर बालसुधार गृहमा तोडफोड भएको र त्यहाँबाट बालबालिकाहरू भागेका थिए।

आयोगले गरेको अनुगमनमा भागेकामध्ये केही सम्पर्कमा आएको र अझै दश जना सम्पर्कमा आउन बाँकी रहेको आयोगका प्रवक्ता एवं सहसचिव डा. टीकाराम पोखरेलले जानकारी दिए।

अनुगमको क्रममा बालसुधार गृहमा रहेका बालबालिकाहरु, बालसुधार गृहको सुरक्षार्थ खटिएका सुरक्षाकर्मी, नेपाल प्रहरीबाट गठित छानविन समिति तथा भक्तपुर जिल्ला सुरक्षा समितिबाट गठित छानविन समितिका सदस्यहरूसँग प्रत्यक्ष भेटी जानकारी लिनुका साथै आयोगले बालसुधार गृहपरिसरको अवलोकनसमेत गरेको थियो।

यस्तै उसले बालबालिकाको स्वास्थ्य, सुरक्षा एवम् जीवनको अधिकारप्रति संवेदनशील हुँदै उक्त घटनाको निष्पक्ष अनुसन्धान गरी दोषीलाई कानुनी दायरामा ल्याउन र बालसुधार गृहमा भयरहित वातावरणको सुनिश्चितता गर्न र यस प्रकारका घटना पुनः दोहोरिन नदिन आग्रहसमेत गरेको छ।

भदौ ७, २०८० बिहीबार १७:४४:३३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।