भुटानी शरणार्थी अनुसन्धानमा संलग्न प्रहरी अधिकारीको सरुवामा कांग्रेस नेता नै अशन्तुष्ट

भुटानी शरणार्थी अनुसन्धानमा संलग्न प्रहरी अधिकारीको सरुवामा कांग्रेस नेता नै अशन्तुष्ट

काठमाडौँ : काँग्रेस रूपान्तरण अभियान चलाइरहेका आठ नेताले नक्कली भुटानी शरणार्थी काण्ड, ललिता निवास जग्गा काण्ड र सुन प्रकरणको अनुसन्धानमा संलग्न प्रहरी अधिकारीको सरुवाप्रति असहमति जनाएका छन्।

कांग्रेस नेता गुरुराज घिमिरे, रञ्जित कर्ण,मधु आचार्य,देवराज चालिसे,गोबिन्दराज पोख्रेल, भूपेन्द्रजङ्ग शाही, भरतबहादुर खड्का र सुवास लोहनीले संयुक्त विज्ञप्तीमार्फत यी सबै अनुसन्धान निष्पक्ष रुपमा अघि बढाइ  तार्किक निष्कर्षमा पुर्याउनु पर्ने उल्लेख गरेका छन्।

'कुनै पनि बहानामा भइरहेको अनुसन्धान प्रभावित हुनु वा रोकिनु हुँदैन। भ्रष्टाचारका घटनाहरूको छानबिनमा कुनै प्रकारको नेतागत वा पार्टीगत लेनदेन, साँठगाँठ वा पक्षधरता कदापी मान्य हुने छैन,' विज्ञप्तीमा भनिएको छ' भ्रष्टाचार सम्बन्धी यति, ओम्नी, वाइडबडी, फोरजी, सेक्युरिटी प्रिन्टिङ प्रेस लगायतका सम्पूर्ण फाइल खोलेर अनुसन्धान र कारबाहीको प्रक्रिया अगाडि बढाइनुपर्दछ।'

विज्ञप्तिमा विभिन्न चर्चित भ्रष्टाचार काण्डमा अनुसन्धान गरिरहेका प्रहरी अधिकारीहरूलाई अस्वाभाविक रूपबाट सरुवा गरिनुले निष्पक्ष छानबिनमाथि नागरिक तहमै गम्भीर प्रश्न उठेको र यो आशङ्का मात्र हो भनेर राज्य पन्छिन नमिल्ने उल्लेख गरेका छन्।

कांग्रेस ८ दशकदेखि विधिको शासन स्थापनाका लागि जोखिमपूर्ण लडाइँ लड्दै आएको नेपालको पुरानो प्रजातान्त्रिक  राजनीतिक दल भएको र सरकारमा हुँदा विधिको शासन चलाउने अभ्यासमा आफूलाई अब्बल साबित गर्नु पर्ने भन्दै पार्टी चलाउँदा पनि विधि र पद्धतिको पूर्ण पालना गर्नुपर्नेमा उनीहरुले जोड दिएका छन्।

विज्ञप्तीमा पार्टीले हालै गठन गरेका भ्रातृ संस्थाहरूको हकमा विधानको गम्भीर उल्लङ्घन भएको र नेविसंघ र नेपाल तरुण दलको वैधानिक व्यवस्था विपरीत भीमकाय तदर्थ समिति गठन गरिएकोमा आपत्ति जनाइएको छ।

भदौ ७, २०८० बिहीबार १३:३०:५६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।