बुधबार बेलुका खुलेको मनाङ सडक पहिरोले फेरि अवरुद्ध

बुधबार बेलुका खुलेको मनाङ सडक पहिरोले फेरि अवरुद्ध

मनाङ : हिमाली जिल्ला मनाङ आउने एक मात्र सडक अवरुद्ध भएको छ। लमजुङको बेंसीसहर नगरपालिका–६ खरखरे, मर्स्याङ्दी गाउँपालिका– ४ घोप्टेभिर, रामबजार र च्याम्चेमा पहिरो खस्दा बिहीबार बिहानैदेखि सडक अवरुद्ध भएको हो।

धेरै स्थानमा पहिरो खसेकाले मनाङको मेरुदण्डको रुपमा रहेका बेसीसहर–चामे सडक पूर्ण रुपमा अवरुद्ध भएको डुम्रे–बेसीसहर–चामे सडक आयोजना कार्यालयका सबइञ्जिनीयर सुमन अधिकारीले जानकारी दिए।

 उनका अनुसार सडक निर्माण गर्दैगर्दा माथिबाट पहिरो खस्ने समस्याले बाटो खुलाउनै मुस्किल भएको छ। धरातल कमजोर भएको अवस्थामा साँगुरो बाटोमा दुई सय मिटरमाथिबाट पहिरो खस्दा सडक खुलाउन नपाउँदै अवरुद्ध हुने गरेको उनको भनाइ छ।

सडक अवरुद्ध हुँदा सवारीसाधन आवतजावत तथा सामान आपूर्तिमा समस्या भएको छ। सडक पूर्ण रुपमा ठप्प हुँदा  मनाङ आउने पर्यटक, पथप्रर्दशक र कर्मचारीहरू बीच बाटोमै अलपत्रमा परेका छन्। 
    
छिनछिनमा सडक अवरुद्ध हुँदा मनाङका किसानले सास्ती भोग्नाका साथै स्याउ, आलु बिक्रीका लागि बजारसम्म पुर्याउन पनि समस्या भएको छ।

भदौ ७, २०८० बिहीबार १३:०३:१८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।