चितवनमा निर्माणाधीन वन्यजन्तु उद्धार केन्द्रलाई चिडियाखाना बनाइने

चितवनमा निर्माणाधीन वन्यजन्तु उद्धार केन्द्रलाई चिडियाखाना बनाइने

चितवन : भरतपुरको देवनगरमा निर्माणाधीन वन्यजन्तु उद्धार केन्द्रलाई चिडियाखाना बनाइने भएको छ। भरतपुर भ्रमण वर्षको अवसरमा पर्यटकलाई बाघ लगायतका वन्यजन्तु देखाउन चिडियाखाना निर्माण गरिने भएको हो।

उद्धार गरिएका वन्यजन्तुलाई पर्यापर्यटनसँग जोडेर आम्दानी समेत गर्ने गरी योजना अघि बढाइएको हो। भ्रमण वर्षका अवसरमा भरतपुर महानगरपालिकाले चितवन राष्ट्रिय निकुञ्जलाई यहाँ आउने पर्यटकलाई बाघ देखाउने वातावरण मिलाइदिन आग्रह गरेको थियो।

महानगर प्रमुख रेनु दाहालले देवनगरमा निर्माण भइरहेको वन्यजन्तु उद्धार केन्द्रमा बाघ, गैंडा, चित्तल लगायतका जनावर देखाउने गरी चिडियाखानाका रुपमा विकास गर्न लागिएको बताइन्।

निकुञ्जका प्रमुख संरक्षण अधिकृत, संरक्षण अधिकृत लगायतको टोलीसँग दाहालले बुधबार स्थलगत अध्ययन र छलफल गरी देवनगरमा चिडियाखाना बनाउने विषयको छलफल भएको बताइन्। 

चितवन आउने निकै कम पर्यटकले मात्रै बाघ देख्ने गरेको जनाउँदै उनले भ्रमण वर्षसँगै चिडियाखाना सञ्चालनमा आएपछि सबैले बाघ देख्न पाउने बताइन्। यसलाई खुला चिडियाखानाका रुपमा क्रमशः विकास गर्नेगरी योजना बनाइएको छ।

भदौ ७, २०८० बिहीबार १२:४८:५२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।